लक्ष्मीमार्ग/ मोरङको बेलबारी–६ बोराबाँधस्थित वीरेन्द्र माध्यमिक विद्यालयका दर्जनभन्दा बढी बालिका लगातार तीन दिनसम्म एकाएक मूच्र्छा पर्ने, हातखुट्टा चिसो अनि लल्याकलुलुक हुने र चिच्याएर रुने गरेपछि शनिबार राति विद्यालयमा धामी बसाएर जोखना हेर्ने काम भएको छ ।

विद्यालयपरिसरमै रहेको शौचालय गएर कक्षाकोठा फर्कने बित्तिकै कक्षा ४, ५ र ६ मा अध्ययनरत दर्जन बढी छात्रामा लगातार तीन दिनसम्म त्यस्तो लक्षण देखा परेपछि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले शुक्रबार सबै विद्यार्थीका अभिभावकलाई विद्यालयमा बोलाएर समस्या सुनायो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवल राईका अनुसार लगातार तीन दिनसम्म त्यस्तै लक्षण देखापरेपछि पीडित छात्राका अभिभावक पनि आए । पत्याउन गाह्रो मानेर उनीहरू पनि आफ्ना बच्चाहरूसँगै शौचालय जाँदा उनीहरूलाई पनि त्यस्तै समस्या भयो । विद्यालयबाहिरका अन्य केहीलाई पनि त्यस्तै भयो । त्यसपछि सबै अभिभावकले विद्यालयमा धामी बसाएर जोखना हेराउने सुझाव सबैले दिए अध्यक्ष राईले बताए ।

अभिभावकको सुझावपछि विद्यालय प्रशासनले शनिबार साँझ लक्ष्मीमार्गका धामी मणि राईलाई विद्यालयपरिसरमा लगेर चिन्ता बसायो । धामीले जोखना हेरेर उनले विद्यालयपरिसरमा बाहिरबाट भड्किएर आएको आत्मा प्रवेश गरेको निक्र्यौल गरे । ‘धामीले शनिबार साँझ चिन्ता बसेर जोखना हेरी झारफुक गरेर मन्छाएपछि आइतबार त्यस्तो समस्या भएन’ विद्यालयका प्रधानध्यापक तीर्थ राईले भने ।

कक्षा ४, ५ र ६ मा अध्ययन गर्ने बालिकाहरूलाई शौचालय गएर कक्षा कोठामा फर्केलगत्तै त्यस्तो लक्षण देखापरेपछि तीन दिनसम्म विद्यालयको पठन–पाठन नै प्रभावित बन्यो । प्रभावित विद्यार्थीहरूले प्रधानाध्यापक राईसँग आफूहरू शौचालय पुग्नेबित्तिकै रातो र सेतो पहिरन लगाएकी महिलाको आकृति देखिने र त्यो आकृतिले छात्रालाई कुटपिट गर्ने, मार्छु भनेर गाली गर्ने गरेको र त्यसपछि मूच्र्छा पर्ने, हातखुट्टा चिसो र लल्याकलुलुक हुने अनि चिच्याएर रुने गरेको बताएका छन् । प्रधानाध्यापक राईले भने, ‘शनिबार साँझ विद्यालयमा धामी बसाएर फलफूल चढाई मन्छाएपछि आइतबार त्यस्तो समस्या देखापरेन ।’

बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख डा. सन्तोष गहतराजका अनुसार यो एक प्रकारको टिनएज उमेर समूहमा बढी मात्रामा देखिने समस्या हो, यसलाई कन्सेर्सिट डिस्अडर पनि भनिन्छ । यो समस्या एक जनालाई भएपछि बढ्दै अरूलाई पनि हुँदै जाने भएकोले त्यस प्रकारका बिरामीलाई केही दिन घरमै राखेमा अरू साथीहरूलाई नहुने र विस्तारै आफै ठीक हुने डा. सन्तोष गहतराजले बताए ।