उदयपुर / सुत्केरी गराउनका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । सुत्केरी गाउने भन्दै करिब विहान ६ बजे अस्पतालमा ल्याईएका २६ वर्षीया गरिस्मा बुढाथोकीको आज मृत्यु भएको हो । अस्पतालमा ल्याइएका महिलाको सुरुमा अवस्था सामान्य नै देखिए पनि पछि एक्कासी शारीरिक समस्या आएर मृत्यु भएको डा. अमरेशकुमार महतोले बताए । गर्भवतीको शरिरमा सेतो रगतको कमी देखिएकाले बाहिर अस्पताल लैजान सुझाए दिए पनि महिलाको आफन्तले लैजान ढिलाई गरेकाले मृत्यु भएको डाक्टर महतोले बताए ।
अस्पतालमा श्रीमान हो भन्दै सुत्केरी गराउन ल्याएको एक पुरुष महिलाको मृत्यु पश्चात तत्काललै बाहिर निस्केपछि फर्केर नआएको अस्पतालले जनाएको छ । आफन्तलाई बोलाउने भन्दै अस्पतालबाट बाहिर निस्केका पुरुष फर्केर नआएपछि मृत गर्भवती बेबारिसे बनेको अस्पतालले जनाएको छ ।
अस्पतालमा लेखाईएको रेकर्डमा मृतक महिलाको श्रीमानको नाम प्रेम बुढाथोकी र ठेगाना उदयपुरगढी गाउँपालिका–७ रहेको छ । महिलाको गर्भवती जाँच खोटाङको बुईपा स्वास्थ्य चौकीमा गरिएको गर्भवती जाँच कार्डमा उल्लेख छ ।
मृतकको श्रीमान् भनिएको पुरुष घण्टौंसम्म अस्पताल नफर्किए पछि प्रहरीको सहयोगमा आफन्तको खोजी कार्य भईरहेको अस्पतालले जनाएको छ ।