उदयपुर/१ न. प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगितामा सुजन श्रेष्ठ (धरान) र प्रनिशसिंह ठकुरी (झापा)को जोडीले उपाधि चुमेका छन् । उदयपुरमा सञ्चालन भएको प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा उक्त जोडीले उपाधि चुमेका हुन् ।

त्रियुगा नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला ब्याडमिन्टन सङ्घ उदयपुरको आयोजनामा भएको प्रतियोगितामा रविन साउदेन (धरान) र प्रकाश राई (दमक) लाई फाइनल खेलमा पछि पार्दै श्रेष्ठ र ठकुरीको जोडी प्रथम भएको हो । साउदेन र राईको जोडी दोस्रो भएका छन् । उदयपुरका सरोज खवास र हिमाल श्रेष्ठको जोडी तथा भोजपुरका विशाल तामाङ र प्रमिश श्रेष्ठले तेस्रो स्थान हात पारेका छन् ।

प्रतियोगिताको मेन्स डबल्स खुल्लातर्फ प्रथम पुरस्कार नगद पुरस्कार ३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र, नगद दोस्रो हुनेलाई २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई जनही ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्रका साथ पुरस्कृत गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा ४५ वर्षमाथिका भेट्रान्स खेलतर्फ उदयपुरका चित्र थापा र बलबहादुर कार्कीको जोडीले प्रथम स्थान हासिल गरेका छन् । उनीहरूले धनकुमार श्रेष्ठ (खोटाङ) र इन्द्र योङहाङ (पाँचथर) लाई फाइनल खेलमा पछि पार्दै जित हात पारेका हुन् ।

श्रेष्ठ र योङहाङको जोडी दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । मोरङका भुपाल प्रसाईं र विकास श्रेष्ठको जोडी दोस्रो तथा ताप्लेजुङका दीपक लिम्बू र धनेन्द्र लिम्बूको जोडी तेस्रो भएको थियो ।

४५ वर्षको भेट्रान्स खेल तर्फको प्रथम पुरस्कार नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र तेस्रो हुनेहरूलाई जनही ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मानित गरिएको आयोजकले जनाएको छ ।

प्रदेश स्तरीय प्रतियोगितासँगै भएको जिल्ला स्तरीय खेलमा सुवास भट्टराई र सरोज खवासको जोडी प्रथम भएको थियो । दीपक खनाल र नगेन्द्र दाहालको जोडी जोडी दोस्रो तथा दीपक राई र राजकुमार दनुवारको जोडी तेस्रो भएको थियो ।

दोस्रो हुने जोडीका खनाल जिल्ला न्यायधीश र दाहाल राष्ट्रिय अनुसन्धान कार्यालय उदयपुरका उपनिर्देशक हुन् भने तेस्रो हुने थापा रणशार्दुल गण बोक्सेका गणपति रहेको आयोजकले जनाएको छ । १, २ र ३ नं. प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूले भाग लिएको प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न भएको अध्यक्ष राजेश कार्कीले बताए ।