विराटनगर/ अनुयायी महिलामाथि बलात्कार आरोप लागेका सिद्धबाबा कृष्णदासले आफूमाथि ठूलो षड्यन्त्र भएको बताउँदै यस्तो घृणित आरोपबाट मर्माहत भएको बताएका छन् । राष्ट्रजगत्को हितमा आध्यात्मिक र हरित विशेष अभियानहरू चलाएर महान् कर्म गरिरहेका बेला सुनियोजित तरिकाले आफूमाथि घृणित आरोप लगाएको बताएका हुन् ।

आफूमाथि लागेको बलात्कारको आरोप निराधार र मातृत्वमाथिको प्रहार भएको पनि बताए । विराट नर्सिङ होमको क्याबिन नम्बर ५ मा उपचारार्थ रहेका उनले ब्लाष्टसँग कुराकानी गर्र्दै भने, ‘प्रहरीमा जाहेरी परेका कारण म निगरानीमा रहेको जानकारी पाएको छु । मैले राष्ट्रप्रति गरेको उपकार र व्यवहारले देशमा कतै नोक्सान पुगेको छ ? होइन भने ममाथि किन यत्रो अन्याय ? राष्ट्र र जगत्को हितमा आध्यात्मिक र हरित विशेष अभियानहरू चलाएर महान् कर्म गरिरहेका बेला यति घृणित आरोप लाग्दा आफै आश्चर्यमा परेको छु ।’

‘स्त्रीलाई चरणसम्म छुन नदिने आफूमाथि लगाइएको यो निराधार आरोप हो’ गहभरि आँसु बनाएर भक्कानिएका उनले भने, ‘मानवलाई नरबाट नारायण र जीवबाट शिव तथा जीवनलाई कसरी अमृतमय बनाउन सकिन्छ भन्ने मेरो विशुद्ध प्रयत्न दू्रतगतिमा अघि बढिरहेको र त्यसमा सफलता प्राप्त भइरहेका बेला मलाई नै ढाल्ने प्रपञ्च भयो । मैले दिने आध्यात्मिक ज्ञान लिनेमा ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला छन् ।’

उनले आफूमाथि हुने जुनसुकै अनुसन्धानमा सहयोग गर्ने बताउँदै गल्ती गरेको पुष्टि भए कारबाही भोग्न आफू तयार रहेको पनि बताए । ‘मेरो आश्रममा दुईसय भक्त रहेका छन्’ उनले भने, ‘कुनै एउटा महिला शिष्य म मात्रै बसेको ठाउँमा एक्लै जान सक्ने अवस्था पनि हुँदैन । ममाथि आरोप लगाउनेले फेसबुक म्यासेञ्जरबाट इच्छा व्यक्त गरेको भए पनि मसँग प्रत्यक्ष भेटघाट पनि भएको छैन । मेरो आश्रममा एक जनासँग गोप्य भेटघाट गर्नसक्ने अवस्था नै हुँदैन ।’

भारतमा सुखसयलमा रहे पनि जन्मिएको नाताले यहीँ केही गौरव र विद्या दिन्छु भनेर नेपाल आएको सम्झँदै कृष्णदासले सहयोगी, भक्त र शिष्यहरूको साथ लिएर १२ वर्षदेखि आफू नेपाल बनाउने महाअभियानमा जुटिरहेको बताए ।

उनले अर्का जगद्गुरु बालसन्तबाट आफूले धेरै कुरा सिकेको बताए । ‘मलाई उहाँले आह्वान गरेर यो ठाउँसम्म पुग्न सहयोग गर्नुभयो’ उनले भने, ‘त्यसैले बालसन्तलाई सधैँ सम्मान गर्छु र सम्झन्छु ।’ उनले बालसन्तबाट पाइने स्नेह र संस्कार अरूबाट पाउनै नसक्ने उल्लेख गरे । यो मानवहित र राष्ट्रका लागि चलाइएको अभियानबाट रुष्ट बनेकाले आफ्नो छवि र प्रयत्न ढाल्न रचेको प्रपञ्च भएको कृष्णदासले बताए ।

‘अनुयायी बनेर झुल्किनेले यस्तो गर्नु भनेको गम्भीर षड्यन्त्र हो’ उनले भने, ‘साधिकाको भेषमा कलङ्क बनेर नेपालको धर्म, संस्कार र संस्कृति एवम् मातृत्वप्रति प्रहार गर्न खोजिएको हो ।’ यस्ता हर्कतहरूको छानबिन गर्दै सही निर्णयमा पुग्नुपर्ने उनको आह्वान छ । बलात्कृत भएँ भनेर कोही कसैले गम्भीर षड्यन्त्रका साथ आरोप लगाए पनि प्रहरी र शिष्यहरूको सुरक्षा घेरामा हुने भएकाले स्त्रीसँग कुनै सम्पर्क नै नहुने उनले बताए ।

‘मेरा आश्रममा महिलाले जुनसुकै बेला प्रवेश नै पाउँदैनन्’ उनले भने, ‘त्यही भएर मैले आरोप लगाउनेलाई चिनेको पनि छैन ।’ शिष्य र भक्तलाई अर्ति–उपदेश दिन इमेल र फेसबुकको प्रयोग गर्ने गरे पनि त्यो आफूले नहेर्ने र सबै भक्तहरूले नै प्रयोग गरेर त्यसको जानकारी आफूलाई गराउने उनले बताए । ‘फेसबुकको म्यासेञ्जरमा अनेक कुरा एकजना महिलाले आश्रमको भक्तको स्वाङ पारेर लेखिरहेको मलाई जानकारी भयो’ उनले भने, ‘त्यसो नगर्न पटक–पटक चेतावनी दिँदा पनि नमानेका कारण पछि त्यहाँबाट उनलाई ‘ब्लक’ नै गर्नुप¥यो ।’

एक महिलाले यसरी फेसबुक म्यासेञ्जरमा लेखेको विषयमा विद्युतीय अपराधमा अनुसन्धान अघि बढाउन आग्रह गरेर हनुमानढोका प्रहरीमा एक महिनाअघि नै जाहेरी दिइसकेको कृष्णदासले बताए । ती महिलाले गम्भीर षड्यन्त्र गर्दै समितिसँग समेत ६० लाख रुपैयाँ ‘बार्गेनिङ’ गरेको उनको भनाइ छ । ‘फेसबुक म्यासेञ्जरमा अनेक कुरा लेखिएका छन्’ उनले भने, ‘गुरुप्रतिको मर्यादा नाघेर एउटा शिष्यले लेख्ने कुरा नै होइन यो ।’ उनले आफू २४ घण्टा नै सुरक्षा घेरामा हुने भएकाले त्यो भीड छिचोलेर आफूसम्म महिलाले आउनै नपाउने भएकाले यति भयानक गल्ती नभएको दाबी गरे ।

बलात्कारको आरोप लगाउने महिलाले फेसबुकमा पठाएको म्यासेजहरू कृष्णदासका शिष्यहरूले सार्वजनिक गरेका छन् । जसमा कृष्णदासलाई भेट्ने, चुम्बन गर्ने र अङ्कमाल गर्ने इच्छा व्यक्त गरिएको छ । यस्ता म्यासेजहरूमा उनले धेरै पटक ‘एकान्तमा भेट्ने’ इच्छा व्यक्त गरेकी थिइन् । तर म्यासेजहरूको जवाफ दिइएको छैन । कृष्णदासले भने आफूले ती म्यासेज नै नहेरेको बताए । उनकै शिष्य बताउने एक महिलाले कृष्णदासमाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् ।