दमक । झापाको दमक तथा गौरादहमा लागूऔषधसहित पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले बिहीबार दमकमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकले संयुक्तरूपमा पत्रकार सम्मेलन गरी बरामद लागूऔषधसहित उनीहरूलाई सार्वजनिक गरेको हो ।
कात्तिक २५ गते गौरादह–३ बाट ३२ वर्षीय सुनिल बरालको साथबाट ३ सय ५२ दशमलव ३१ ग्राम खैरो हेरोइन बरामद गरेको दमक प्रहरी प्रमुख विजयराज पण्डितले बताए । सोही दिन दमक–४ को भान्जा होटलबाट पनि भारतीय नागरिक रिन्टु शेखबाट २ सय १७ ग्राम खैरो हेरोइन बरामद गरेको उनले जानकारी दिए ।
त्यस्तै पाउरोटीको प्याकेटभित्र लुकाई छिपाई राखेको डाइजेपाम, फेनारगनलगायतका लागूऔषधसहित दमक–१ का पुण्यबहादुर श्रेष्ठलाई पनि गत कार्तिक १३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूबाट बा.३ च ९२५५ नम्बरको कार, बा.८१ प ६२४० नम्बरको स्कुटर, मोबाइल सेट तथा नगदसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।