धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि अर्को चेक काण्ड सार्वजनिक भएको छ । ०७५ वैशाख २३ गते तत्कालीन रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र प्रतिष्ठानसँग कुनै कारोबार र साइनो नभएका जीवन पौडेलले भुक्तानी लिएको घटना सेलाउन नपाउँदै पुनः अर्को चेकबाट रकम लिएको घटना बाहिरिएको छ ।

२०७५ वैशाख २३ गते एनआईसी एशिया बैङ्कमा रहेको प्रतिष्ठानको खाता नम्बर २३४१०१०१४८०५५२४०१४ बाट चेक नम्बर १६७५०६५० मार्फत् जीवन पौडेलको नाममा रकम गएको काण्डले प्रतिष्ठान बदनाम भएपछि रातारात उक्त चेकको रकम पुनः प्रतिष्ठानको खातामा जम्मा गरिएको थियो । उक्त विषयमा अझै छानबिन चलिरहेको छ । सो चेकमा निलम्बित रजिष्ट्रार तुलबहादुर श्रेष्ठको नाम मुछिए पनि यस विषयमा कुनै निर्णय भएन ।

हाल जारी भएको चेकमा अस्पताल निर्देशक डा. गौरीशङ्कर साहको हस्ताक्षर रहेको छ । गत भदौ १९ गते सनराइज बैङ्कको ४ लाख ८० हजारको चेक बिना काम र बिना आधार सुमसेन थापाको नाममा काटिएको उक्त चेक भदौ २७ गते सनराइज बैङ्कको सिरहाको मिर्चैया शाखाबाट साटिएको छ । रजिष्ट्रार श्रेष्ठको नामबाट पैसा निकालिएको घटना सार्वजनिक भएपछि तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियारले श्रेष्ठको आर्थिक कारोबार अधिकार खोसी अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहलाई दिएका थिए भने लेखा प्रमुख रूपा सिङ्घाची अग्रवाललाई अन्यत्र सरुवा गरिएको थियो ।

असार २६ मा उपकुलपति राजकुमार रौनियार ८ लाख घूससहित रङ्गेहात पक्राउ परेपछि रेक्टर डा. गुरुप्रसाद खनाललाई स्वास्थ्य मन्त्रालयले कार्यवाहक उपकुलपतिको जिम्मेवारी दियो । रौनियारसँग नजिक भएर काम गर्दै आएका अस्पताल निर्देशक साहबाट पनि खनालले निर्देशकसँग भएको आर्थिक कारोबारको अधिकार आफैले लिएका छन् । साउन ३० गतेदेखि पत्र पठाएर आर्थिक कारोबार नगर्न उपकुलपति खनालले निर्देशन दिएका थिए ।

तर उक्त चेकमा भाद्र १९ गते अस्पताल निर्देशकले हस्ताक्षर गरेको पाइएको छ । अधिकार नै कटौती भएको समयमा चेक जारी भएको देखिएकोले घटना रहस्यमय बनेको एक कर्मचारीले बताए । सुमसेन थापाले सनराइज बैङ्कको खाता नं. ००३१०२५१४७७०१८ बाट चेक नं. ५४०२११० मार्फत् रकम निकालेका छन् । उक्त रकम के को लागि भुक्तानी भएको भन्ने कुनै विवरण प्रतिष्ठानको लेखा शाखामा रेकर्ड छैन । कुनै पनि भुक्तानी दिनुपर्दा के प्रयोजनका लागि भुक्तानी दिएको हो भन्ने टिप्पणी उठाएर आवश्यक कागजपत्र समावेश गरिएको हुन्छ ।

सुमसेन थापा काठमाडौंका नाक, कान, घाँटीका डाक्टर भएको बताइएको छ । बिना प्रयोजन ४ लाख ८० हजार भुक्तानी भएपछि कार्यवाहक उपकुलपतिले निर्देशक साहलाई कात्तिक ६ गते पत्र काटी स्पष्टीकरण सोधेका थिए । साहले कात्तिक १४ गते पत्रको जवाफ पठाएका थिए । जवाफमा साउन ३० गते नै आर्थिक कारोबार बन्द भई बैङ्क हस्ताक्षर नै परिवर्तन भइसकेको अवस्थामा आफ्नो हस्ताक्षरमा गएको चेकबारे अनुसन्धान गर्न उनले माग गरेका थिए । उनले उपकुलपति खनाललाई कुनै कागजात बिना चेक सदर गर्ने लेखा शाखा र बैङ्कको अनुसन्धान गर्न उनले माग गरेका छन् । उनले आफूलाई कसैले फसाएको बताएका छन् ।

अधिकार नभएको बेला उनको हस्ताक्षर रहेको चेकबाट भुक्तानी भएपछि छानबिनका लागि आफूले अख्तियार अनुसन्धान आयोग इटहरी, इलाका प्रहरी कार्यालय धरान, राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा उजुरी दिएको उनले बताए । अख्तियारमा उनको उजुरी कात्तिक १८ गते दर्ता नं. ६११८३६ मा दर्ता भएको छ । त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पनि कात्तिक २१ गते छानबिनका लागि दिएको निवेदनको दर्ता नं. १०३७ रहेको छ ।

यता पटक–पटक चेक काटेर फर्जी भुक्तानी हुन थालेपछि घटनाबारे छानबिनका लागि प्रहरीलाई जिम्मा दिएको कार्यवाहक उपकुलपति खनालले जानकारी दिए । ‘बीपीमा यस्ता धेरै काण्ड भए । आन्तरिक छानबिनले नहुने देखेर प्रहरीलाई जिम्मा दिएका हांै ’ –खनालले भने । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले संस्थागत उजुरी नआएको बताए । चेकमा हस्ताक्षर गरेका डाक्टरले भने उजुरी दिएको बताउँदै कीर्ते गरेको विषयमा इलाका प्रहरी कार्यालय धरानले हेर्ने भएकाले धरान प्रहरीलाई उजुरी रेफर गरिएको प्रवक्ता पाण्डेले बताएका छन् ।

इलाका प्रहरी कार्यालय धरानमा कार्यवाहक उपकुलपतिले अनुसन्धान गर्न निर्देशन दिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘अनुसन्धान थालिएको छ । केही मान्छेलाई नियन्त्रणमा समेत लिइए पनि अनुसन्धानमा असर पर्ने भएकाले सार्वजनिक गरिएको छैन’–डिएसपी न्यौपानेले भने ।