विराटनगर / सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको सरकारी गाडीमा अवैध कपडा ओसार–पोसार हुने गरेको पाइएको छ । भारतबाट भन्सार छलेर अवैध तरिकाले कपडा ल्याउने क्रममा एक जना वडाध्यक्षलाई विराटनगर रानी भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिए पछि यस्तो खुलेको हो ।
अग्निसाइर कृष्णासवरन गाउँपालिका ४ का वडाध्यक्ष तेजनारायण यादव र उनी चढेको स १ झ ५०८ नम्बरको सरकारी गाडीमा ५० हजार बढी मूल्यका सामानसहित भन्सार कार्यालयले बिहीबार साझ नियन्त्रणमा लिएको हो । सरकारी गाडीमा भन्सार छलेर कपडा लैजान लागेको अवस्थामा कर्मचारीले चेकजाँच गर्ने क्रममा फेला पारेका हुन् । जोगवनीबाट केही कपडा, साडी तथा लत्ताकपडा लैजान लागेको थाहा पाएर कर्मचारीले गाडी भन्सारले नियन्त्रणमा लिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले बताए । ‘भन्सार छलेर कपडा ल्याएको चेकजाँचको क्रममा थाहाँ भएपछि नियन्त्रणमा लिएको हो,’ सूचना अधिकारी पौडेलले भने, ‘भन्सार कार्यालयमा सावारी साधान राखिएको छ ।’ वडाध्यक्ष यादवले भने मंसिर ४ गते हुन लागेको आफ्नो छोरीको विवाहका लागि केही कपडा लैजान लागेको स्वीकार गरेका छन् । ‘छोरीको विवाह हुँदैछ, त्यसको लागि किनमेल गरेर फर्किने क्रममा कर्मचारीले नियन्त्रणमा लिए,’ उनले भने । गाडीमा साडी ५ थान, बेहुलाको सुटको कपडा, सिरक तथा खाद्यान्नका सामाग्री आफूले किनेको वडाध्यक्ष यादवको भनाइ छ ।
सरकारी नम्बर प्लेटको गाडीमा प्रहरीले पनि वास्ता नगर्ने र कोही कसैले सहजै शंका नगर्ने भएका कारण अवैध समान ओसार पोसार बढेको बताइएको छ । यस अघि सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागू औषधसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । एक हप्ता अगाडी डिभिजन वन कार्यालय उदयपुरको मोटरसाइकल प्रयोग गरेर भारतको जोगवनीबाट लागुऔषधको ओसारपसार गर्ने सप्तरी राजविराज नगरपालिका २ राजदेव टोल घर भएका २६ वर्षीय कपिल यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।
कपिल डिभिजन वन कार्यालय उदयपुरका अधिकृत सत्यनारायण यादवका छोरा हुन् । उनले जोगवनीबाट लागुऔषध ओसार्न प्रयोग गरेको वन कार्यालय उदयपुरको स १ ब १४१० नम्बरको सरकारी मोटरसाइकललाई पनि प्रहरीले विराटनगर भन्सार कार्यालयको १ नम्बार ढाटबाट नियन्त्रणमा लिएको थियो । बाबुले प्रयोग गर्ने सरकारी मोटरसाइकल कपिलले चलाएर अवैध लागूऔषध तस्करीमा लगाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।