धरान ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अहिले समस्यै समस्यामा छ । एकातिर बिरामीको चाप, अर्कातिर उपकुलपति, रजिष्ट्रारजस्ता महत्वपूर्ण पद खाली हुँदा प्रतिष्ठान अस्त–व्यस्त बनेको छ ।

समस्याको चाङ रहेको प्रतिष्ठानलाई सिनेट बैठकले राहत दिने आम जनमानसको अपेक्षा थियो तर शुक्रबार हुनुपर्ने सिनेट बैठक अन्तिम समयमा आएर स्वास्थ्यमन्त्री उपेन्द्र यादवको दबावमा स्थगित भएको छ । प्रतिष्ठानको ४३ औं सिनेट बैठकका लागि सबै सिनेट सदस्यहरू काठमाडौं पुगिसकेका थिए भने बैठकका लागि निर्माणाधीन अवस्थामा रहेको मातृशिशु भवन, फ्याकल्टी प्रोमोसन, तलब, बजेटलगायतका एजेण्डा तयार गरिएको थियो । बैठकको सम्पूर्ण तयारी सकिएको बेला बिहीबार सिनेट अध्यक्षसमेत रहने स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सिनेट रोक्न निर्देशन दिए ।

उपकुलपति डा.राजकुमार रौनियारलाई हटाउनका लागि गरिएको विशेष सिनेट बैठकबाहेक नियमित सिनेट बैठक नभएको डेढ वर्ष भइसकेको छ । सिनेट बैठकमा सहभागी हुन काठमाडौं पुगेका एक सदस्यका अनुसार स्वास्थ्यमन्त्रीले रजिष्ट्रार बिना बैठक हुन नसक्ने भन्दै स्थगित गरेका थिए । प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि प्रतिष्ठान रजिष्ट्रारविहीन छ भने तत्कालीन उपकुलपति डा.राजकुमार रौनियार पनि घूस रकमसहित अख्तियार टोलीबाट पक्राउ परेपछि रेक्टर गुरुप्रसाद खनाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

प्रतिष्ठान ऐनमा सिनेट बैठकमा रजिष्ट्रार अनिवार्य हुनुपर्ने व्यवस्था नरहेको अर्का सिनेट सदस्यले बताए । सिनेटको सदस्य–सचिव उपकुलपति हुने व्यवस्था छ । सिनेट बैठक स्थगित भएपछि प्रतिष्ठानका समस्या झन् बढ्ने निश्चित छ । अब सिनेट बैठक कहिले बस्ने भन्ने टुङ्गो छैन । नयाँ बैठकका लागि कम्तिमा तीन हप्ताअघि नै पत्राचार गर्नुपर्ने नयाँ प्रक्रियामा जानुपर्छ ।

सिनेट बैठक स्थगित भएपछि प्रतिष्ठानका कर्मचारी तथा चिकित्सकहरू आक्रोसित छन् । प्रतिष्ठानका वरिष्ठ प्रशासन सहायक महेश्वर राईले फेसबुकमा ‘प्रतिष्ठानका सह–उपकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्ना हुनेवाला सम्धी डा.बिएन यादवलाई रजिष्ट्रार जबरजस्ती दबाव दिँदै आएको र त्यही कारण सिनेट बैठक स्थगित भएको’ भनेर स्टाटस लेखेका छन् । प्रतिष्ठानका कर्मचारी मात्र होइन, सिनेट बैठकका लागि काठमाडौं पुगेका सिनेट सदस्यहरू पनि स्वास्थ्यमन्त्रीले डा.बिएनलाई रजिष्ट्रार बनाउन दबाव दिएका कारण बैठक स्थगित भएको बताउँछन् ।

हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा रेक्टर रहेका डा.बिएन यादव प्रतिष्ठानमा रहँदा पहिलादेखि विवादमा परेका व्यक्ति हुन् । तर उनी स्वस्थ्यमन्त्रीसँग पहिल्यैदेखि निकट छन् । डा.यादवकी छोरी र मन्त्रीका छोराको विवाह हुने निश्चित भइसकेको प्रतिष्ठानका कर्मचारीहरू बताउँछन् । प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा.गुरु खनाल मन्त्रालयले रजिष्ट्रार नभई सिनेट बैठक बस्दा कानूनी समस्या आउन सक्ने भन्दै स्थगित गर्ने निर्णय गरेको बताउँछन् । उनी भन्छन्, ‘अब प्रक्रियामा गएर गर्दा कहिले हुन्छ टुङ्गो छैन ।’