कालाबञ्जार/ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरीको पकलीस्थित कान्छीचोकमा दुई सवारी एक–आपसमा ठक्कर खाँदा २६ जना घाइते बनेका छन् ।
घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । राजमार्गस्थित जाल्पा पेट्रोलपम्पअगाडि को.१ ज २८३५ नम्बरको म्याजिक र को.२ ह ५९३ नम्बरको टेम्पो आपसमा ठक्कर खाएको थियो ।
म्याजिक भेन पूर्वबाट पश्चिमतर्फ जाँदै थियो भने टेम्पो पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको अवस्थामा ठक्कर खाएको हो । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इन्स्पेक्टर दिनेश दाहालले जानकारी दिए ।
घाइतेहरूको इटहरीस्थित एपेक्स अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरस्थित न्यूरो अस्पातल पठाइएको उनले बताए ।































