विराटनगर/ मैदानमाथि माटोको ढिस्को उठाएर खेलिने कुस्तीमा क्रेज देखिन थालेको छ । एक समय लोप हुँदै गएको परम्परागत खेल कुस्तीको क्रेज आजभोलि तराई क्षेत्रमा देखिन थालेको हो ।

लोप हुँदै गएको कुस्ती खेलको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले विराटनगर–१८ बुधनगरमा तीन दिनसम्म सञ्चालन गरिएको कुस्ती प्रतियोगितामा उपस्थित हजारौं दर्शकले भरपूर मनोरञ्जन लिए । उक्त खेल हेर्न बालबालिका र युवादेखि वृद्धसम्मको उल्लेखनीय भीड देखियो ।

विराटनगरको फँडानी चौकको खेलमैदानमा आयोजना गरिएको कुस्ती प्रतियोगितामा भारत र नेपालका पहलमानहरूको उपस्थिति रहेको थियो । कुस्ती खेलको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारतका ४० र नेपालका २५ जना पहलमानहरूले प्रतिस्पर्धा गरेका थिए । स्थानीय युवाहरू सम्मिलित दीपावली तथा छठ पूजा समितिले आयोजना गरेको प्रतियोगितामा पहलमानहरूले आफ्नो कलाकौशल र शक्ति प्रदर्शन गरेका छन् ।

यस स्थानमा पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा हजारौं दर्शकको भीड थियो । प्रतियोगितामा भारतको दिल्ली, जयपुर, पञ्जाव, लखनउ, वनारस र विहारका ४० जनासहित नेपालका विभिन्न जिल्लाका २५ जना पहलमानहरू सहभागी भएका छन् । कुस्तीलाई संरक्षण गर्ने उद्देश्यस्वरूप यसपटकदेखि कुस्ती प्रतियोगिता आयोजना गर्न शुरू गरिएको आयोजक समितिका अध्यक्ष रविन्द्रकुमार दास तत्माले जानकारी दिए । खेलाडीहरूको शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी सम्बन्ध विस्तार गर्ने मुख्य उद्देश्यका साथ आयोजित कुस्ती प्रतियोगितामा ७५ केजीदेखि १ सय १० केजीसम्मका पहलमानहरूको उपस्थिति रहेको अध्यक्ष दासले बताए ।

मौलिक परम्पराअनुसार आयोजना गरिएको कुस्ती खेलका सहभागीलाई हौस्याउन परम्परागत रूपमा ढोल बजाएर उत्साहित गरिएको थियो । नवलपरासीका पहलमान वसन्त थापा र भारतका प्रतिस्पर्धीबीच भएको कुस्ती प्रदर्शनले दर्शकलाई रोमान्चक बनायो ।

तीन दशक अघिसम्म मोरङ, सुनसरी, सिरहा, सप्तरी र धनुषा लगायत मिथिलाञ्चलका विभिन्न क्षेत्रहरुमा उल्लेख्य संख्याका पहलमानहरु थिए । तर पछिल्लो समय मनोरंजनका आधुनिक साधनहरुको बिकास भएपछि कुस्ती प्रतियोगिताको आयोजना शुन्य प्राय भएपछि यो खेलबाट अधिकांश खेलाडीहरु पलायन भएका छन् । कुस्ती सांस्कृतिक र पारम्परिक खेल हुनुका साथै स्वास्थ्यसंग समेत प्रत्यक्ष गांसिएको खेल भएकाले यसको संरक्षण र सम्बर्धनगर्न आवश्यक रहेको पहलमानहरुको भनाई छ ।

सिमाक्षेत्र नजिकै आयोजना गरिएको प्रतियोगिता हेर्न विराटनगर सहित आसपासका गाँउपालिका र भारतीय सिमावर्ती क्षेत्रका दर्शक विराटनगर १८ को फंडानी मैदान पुगेका थिए । भारतबाट आएका पहलमानहरु समेत कुस्ती हेर्न उर्लिएको जनसागर देखेपछि हौस्सिएका देखिन्थे ।

कुस्ती खेललाई प्रबद्र्धन गर्न सकिए लागुऔषधको दुब्र्यसनमा फंस्दै गएका युवाहरुलाई समेत सुधार्न सकिने भारतका राजस्थानका पहलमान बादल सिंहले बताए । यस्तो खेलको संरक्षणमा सबै क्षेत्र लाग्नुपर्ने उनको भनाई थियो । यस्तो खेलको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको काँग्रेसका नेता राजेश गुप्ताले बताए ।

‘कुस्ती सांस्कृतिक र पारम्परिक खेल हुनुका साथै स्वास्थ्यसँग समेत प्रत्यक्ष गाँसिएको छ,’ उनले भने, ‘यसको संरक्षण हुन आवश्यक छ ।’ कुस्ती खेलमा सहभागी नवलपरासीका पहलमान वसन्त थापाले कुस्ती सांस्कृतिक र पारम्परिक खेल हुनुका साथै स्वास्थ्यसँग समेत प्रत्यक्ष गाँसिएकाले यसको संरक्षण गरिनुपर्ने बताए ।