भद्रपुर/ सेवाग्राहीको बढी भीडभाड हुने सरकारी कार्यालयले कार्यालयपरिसरमा सवारी साधन प्रवेशमा रोक लगाएपछि पार्किङ अस्त–व्यस्त बनेको छ ।

झापा सदरमुकाममा रहेका कार्यालयमध्ये नापी, मालपोत, आन्तरिक राजस्व, अदालत र जिल्ला प्रशासनमा बढी सेवाग्राहीको चाप हुने गरेको छ । ती कार्यालयमा आउने सेवाग्राहीले मूल सडकको पेटीमै पार्किङ गर्नुपर्ने बाध्यताले कार्यालय क्षेत्र अस्त–व्यस्त बनेको हो । सवारी साधन व्यवस्थापनका लागि भद्रपुर नगरपालिकाले तोकेको थोरै क्षेत्रमा सवारी साधन नअटाएपछि जताततै राखिएका सवारी साधनले सदरमुकाम घिनलाग्दो भएको छ ।

मानिस आवत–जावत गर्ने मूल सडकलाई नै व्यवसायीले सवारी साधन पार्किङस्थल बनाएर पार्किङ शुल्क असुलिरहेका छन् । काम लिएर आउने सर्वसाधारणले आफ्ना सवारी साधन सडकमा पार्किङ गर्दा पनि पार्किङ व्यवसायीलाई रकम बुझाउनु पर्ने बाध्यता छ । अव्यवस्थित पार्किङका कारण सरकारी कार्यालयमा पुग्ने सेवाग्राही ठगिने क्रमसँगै दुर्घटनाको सम्भावना बढ्दै गइरहेको छ । तोकिएको क्षेत्रमा पार्किङस्थल बनाएर रकम असुल्नु पर्ने नियम मिचेर ठेकेदार खड्का निर्माण सेवाले निषेधित क्षेत्रमा समेत पार्किङ शुल्क असुलिरहेको छ ।

नगरपालिकाको अतिथि गृह जाने सडकलाई केन्द्र तोकेर भद्रपुर नगरपालिकाले २ लाख ६३ हजार रूपैयाँमा चन्द्रगढीको खड्का निर्माण सेवालाई ठेक्का लगाएको छ । नगरपालिकाले निर्धारण गरेको स्थलमा भन्दा बाहिर गएर नियम विपरीत मूल सडकलाई नै अव्यवस्थित पार्किङ तथा अनियन्त्रित शुल्क असुल्ने काम गरिरहे पनि सम्बन्धित निकाय बेखबर रहेको छ । सवारी साधन पार्किङको उचित व्यवस्थापन नहुँदा आवत–जावतमा समस्या खेप्नुपर्ने, बाटामा रोकिएका सवारी साधनको पार्किङ शुल्क दोब्बर लिनेजस्ता समस्या देखापरेका छन् ।

कर्मचारीले भने कार्यालय परिसरभित्र राख्ने अनुमति पाएका छन् । यस क्षेत्रमा पार्किङको समस्या त छँदैछ, त्यसमा पनि सडक किनारमा दर्जनभन्दा बढी फुटपाथमा व्यापार चलाउनेको उत्तिकै भीडभाड रहने गरेको छ । सुर्तीजन्य पदार्थ, कागज, फायल, चट्पटे, मकै पोल्ने आदि व्यापारले कार्यालय क्षेत्र झनै अस्त–व्यस्त बनाएको छ । कार्यालयमा आउने सेवाग्राहीलगायत अन्यलाई जिल्ला समन्वय समिति, शिक्षा विकास समन्वय इकाई, सिंचाइ कार्यालयका गेट खुल्ला भएकोले प्रायः कार्यालय परिसरभित्र सवारी राख्ने गरेका छन् । अन्य कार्यालयमा आउने सेवाग्राहीले कार्यालयअगाडि पर्ने मूल सडकको किनारामा पार्किङ गरेपछि सडकसमेत अस्त–व्यस्त हुने गरेको छ ।

पार्किङस्थलको अभावले गर्दा जताततै सवारी साधन राखे पनि पार्किङ कर्मचारीले मात्र व्यवस्थापन गर्न नसक्ने रकम असुलीमा खटिएकाहरू बताउने गर्छन् । सो क्षेत्रमा भद्रपुर नगरपालिकाले पार्किङस्थलको व्यवस्थापन नै नगरी कर सङ्कलनका लागि मात्र वार्षिक ठेक्का लगाएर राजस्व उठाउने गरेकोले सदरमुकाममा सवारी साधन अस्त–व्यस्त बन्ने गरेको स्थानीयको आरोप छ । मालपोत र राजस्वमा आउने ठूला व्यवसायी र गेटमा बसेका सुरक्षाकर्मीसँग चिनजान भएका सेवाग्राहीलाई मात्र सवारी साधन प्रवेश दिइने गरेको छ भने साना सेवाग्राहीलाई रोक लगाउने कार्यले ठूलालाई गेट खोल्नेजस्ता विभेदका जनगुनासाहरू कार्यालयमा आएका सेवाग्राहीले गरेका छन् ।

विगतमा सवारी साधन व्यवस्थित गर्न ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीले सरकारी कार्यालय क्षेत्रमा अव्यवस्थित पार्किङ रोक्न व्यवस्थापन गर्दै आइरहे तापनि पछिल्लो समय बेवास्ता गर्न थालेपछि झन् समस्या बढेर आएको छ । पार्किङ व्यवस्थापनलाई सहज बनाउन कार्यालय जाने सडकमा ठाउँ–ठाउँमा पार्किङ् निषेधको प्लेट, भित्ते लेखन गरिएको देखिने गरे पनि नियम पालना गर्न बाध्यकारी निकाय नहुँदा व्यवसायीको असुली केन्द्र बन्न गएको छ । निषेधित क्षेत्रमा सवारी राखेमा कारबाही हुने डर नभएपछि ठेकेदारले जहाँताहीँ रकम असुलिरहेका छन् । ट्राफिक प्रहरी बस्न छाडेपछि अहिले कार्यालय क्षेत्रको मूल सडक अस्त–व्यस्त बनेको पाइएको छ ।

नगरपालिकाले तोकेको क्षेत्रभन्दा बाहिरबाट पार्किङ शुल्क लिने गरेको ठेकेदार कर्मचारीले स्वीकर गरे । त्यो स्थानले ठेक्का घाटा हुने भएकोले अन्यत्रबाट पनि उठाउने गरेको उनले जनाए । कोष तथा लेखा नियन्त्रक कार्यालयदेखि उत्तर हुँदै अदालत, राजस्व, सिंचाइ, शिक्षा, भूिमसुधार, निर्वाचन र सहकारी डिभिजन कार्यालयको भवनसम्म सडक छेउछाउमा पार्किङ गरेका सवारी साधनबाट रकम लिने गरेका छन् ।

त्यसैगरी पश्चिमतर्फ सघन शहरी विकास तथा भवन डिभिजनको कार्यालय देखि, डिभिजन वन, कर्मचारी मिलन केन्द्र जाने सडकको दुवै तर्फ राखिएका ठूला तथा साना सवारीबाट पार्किङ शुल्क लिने गरेका छन् । नगरपालिका राजश्व शाखाका प्रमुख सुशीलकुमार कर्णका अनुसार आर्थिक वर्ष ०७६/७७ का लागि भद्रपुर वडानम्बर ८ मा रहेको नगरपालिकाको अतिथि गृह जाने बाटो वरपरका दुवै किनारापरिसरमा पार्किङ शुल्क असुलउपर गर्नू भनी ठेकेदार कम्पनी खड्का निर्माण सेवालाई लिखित अनुमति–पत्र दिएको जानकारी दिए । उनले चन्द्रगढी ट्राफिक प्रहरीले व्यवस्थापनमा सहयोग नगरेका कारण पार्किङ समस्या बल्झेको भन्दै ठेकेदारलाई कारबाही गर्ने बताए ।

पार्किङको समस्यालाई लिएर नगर प्रशासनमा पटक–पटक छलफल गरी समस्या हल गर्न चन्द्रगढी ट्राफिक प्रहरीलाई पत्र पठाएको भए पनि अटेर गरेको नगर प्रशासनको आरोप छ । हाल पार्किङस्थल तोकिएको क्षेत्रमा नै चन्द्रगढी ट्राफिक प्रहरीको कार्यालय रहेको भए पनि अव्यवस्थित पार्किङ र अवैध पार्किङ शुल्कलगायत समस्याको समाधान हुन सकेको छैन । यस विषयमा भद्रपुर नगरपालिकाका मेयरसँग जानकारी लिएर छलफल गर्ने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।