भद्रपुर/ आगलागीबाट एउटा घरसहित अनुमानित ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । हल्दीबारी गाउँपालिका ५ स्थित कन्चनश्री बजारमा शनिबार दिउँसो आगलागी हुँदा स्थानीय मायानाथ पोख्रेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जलथल प्रहरी असई भरत कोइरालाका अनुसार पोख्रेलको घर सहित ३० लाख बराबरको क्षति भएको छ भने एउटा गाईको बाछो समेत जलेर मरेको छ । आगजनी पीडित पोख्रेलले दिएको जानकारी अनुसार घरका सबै सदस्य धान काट्न गएको बेला कसरी आगजनी हुन पुग्यो थाहा नभएको उल्लेख छ । आगलागीबाट नगद ३ लाख ,४ तोला सुन ,२० तोला चाँदी लगायत सबै नष्ट भएको छ ।

घटनापछि भद्रपुरबाट आएको दमकल ,स्थानीय प्रहरी र स्थानीयहरूले सहयोग पुर्याएका थिए । घटनास्थल पुगेका हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले तत्काल गाउँ पालिकाबाट राहत सहयोग गर्ने बताएका छन् । विपद्मा परेका पीडितलाइ गाउँपालिकाले तत्काल राहत प्रदान गर्दै आइरहेको छ ।