बिर्तामोड/ झापाको बुद्धशान्ति गाउँपालिका–४ मा माछा मार्ने क्रममा करेण्ट लागेर मामा–भाञ्जाको मृत्यु भएको छ । शनिबार बिहानको राति माछा मार्न गएका उनीहरूको स्थानीयले हात्ती रोक्न लगाएको विजुलीको तारबाट करेण्ट लागेर मृत्यु भएको हो ।
बुद्धशान्ति–४ मा रहेको नवज्योति सामुदायिक वन समूहको कार्यालयछेउमा रहेको खाडलमा माछा मार्ने क्रममा करेण्ट लागेर सोही ठाउँका १८ वर्षीय अभिनास राई र भोजपुरबाट पाहुना आएका उनका मामा अन्दाजी ३५ वर्षीय मनिराम राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
माछा मार्ने क्रममा हात्तीलाई लगाएको तारबाट करेण्ट सप्लाइ भएर मृत्यु भएको मृतक अभिनासका दाइ पेरिसकुमार राईले जानकारी दिएका छन् । हात्ती प्रभावित क्षेत्र भएकोले स्थनीयले आ–आफ्नो जग्गामा तार लगाएको र सोही तारबाट करेण्ट प्रवाह भएर उनीहरूको मृत्यु भएको जानकारी राईले दिएका छन् ।
राति टर्चलाइट बोकेर माछा मार्न गएका उनीहरूलाई माछा समात्न पानीमा पसेको बेला करेण्ट लागेको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयले हात्ती नियन्त्रणको लागि तार लगाएको विषयमा आफूलाई जानकारी नभएकोे नवज्योति सामुदायिक वन समूहका अध्यक्ष मानबहादुर साँवाले बताए ।































