बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा माछा मार्ने क्रममा करेन्ट लागेर मामा, भाञ्जाको मृत्यू भएको छ । शनिबार बिहानको राती माछा मार्न गएका उनीहरुको स्थानीयले हात्ती रोक्न लगाएको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यू भएको हो ।

बुद्धशान्ति ४ मा रहेको नवज्योति सामुदायिक वन समूहको कार्यालय छेउमा रहेको खाडलमा माछा मार्ने क्रममा करेन्ट लागेर सोही ठाउँका १८ वर्षीय अभिनास राई र भोजपुरबाट पाउना आएका उनका मामा अन्दाजी ३५ वर्षीय मनिराम राईको मृत्यू भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

माछा मार्ने क्रममा हात्तीलाई लगाएको तारबाट करेन्ट सप्लाई भएर मृत्यू भएको मृतक अभिनासका दाई पेरिस कुमार राईले जानकारी दिएका छन् । हात्ती प्रभावित क्षेत्र भएकोले स्थनीयहरुले आफ्नो आफ्नो जग्गामा तार लगाएको र सोही तारबाट करेन्ट सप्लाई भएर उनीहरुको मृत्यू भएको जानकारी राईले दिएका छन् ।

राती टर्च लाइट बोकेर माछा मार्न गएका उनीहरुको माछा समात्न पानीमा पसेको बेला करेन्ट लागेको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयले हात्ती नियन्त्रणको लागि तार लगाएको विषयमा आफुलाई जानकारी नभएकोे नवज्योति सामुदायिक वन समूहका अध्यक्ष मानबहादुर साँवाले बताए ।