धनकुटा । साँगुरीगढी गाउँपालिका–५ नं.वडा कार्यालयले कृषि उपजका स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्धेश्यले एक दिने सामुदायिक संस्था स्तरीय खुल्ला कृषि मेला प्रदर्शनी शुक्रबार धनकुटाको डाँडाबजारमा सम्पन्न गरेको छ ।

साँगुरीगढी गाउँपालिका कार्यालयको सहयोगमा गाउँ विकास कार्यक्रम अन्तर्गत सामुदायिक विकास कोष र वडा कार्यालयको आयोजनामा भएको खुल्ला कृषि मेला प्रदर्शनीमा कोषमा आबद्ध २२ वटा संस्थाले भाग लिएका थिए । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजङ याक्खाको प्रमुख आतिथ्यमा सम्पन्न कृषि मेला प्रदर्शनीलाई तरकारी बाली, मसला बाली र फलफूल गरी जम्मा तीन भागमा वर्गीकरण गरी प्रदर्शनमा राखिएको थियो ।

खुल्ला कृषि प्रदर्शनीमा तरकारी बालीतर्फ महिला विकास सामुदायिक संस्थाकी गुणाकुमारी लिम्बू प्रथम, शान्ती महिला सामुदायिक संस्थाकी दुर्गा थापा द्वितीय र शान्ती महिला समुदायिक संस्थाकै सीता घिमिरे तृतीय भएकी छन् । त्यसैगरी नयाँ गोरेटो सामुदायिक संस्थाका गौरीमाया लिम्बू, एकीकृत लाप्चेटार विकास सामुदायिक संस्थाका भिनबहादुर भण्डारी र शान्ती महिला सामुदायिक संस्थाकी अपना बस्नेतले सान्त्वना पुरस्कार पाएका छन् ।

त्यसैगरी फलफूल बालीतर्फ बुहारी चेली सामुदायिक संस्थाका गङ्गाकुमारी देवान प्रथम, महिला विकास सामुदायिक संस्थाका सूर्यबहादुर लिम्बू द्वितीय, नयाँ गोरेटो सामुदायिक संस्थाका खड्गमाया लिम्बू तृतीय र महिला विकास सामुदायिक संस्थाका गुणाकुमारी लिम्बूले सान्त्वना पुरस्कार पाएका छन् । मसला बालीतर्फ नयाँ गोरेटो सामुदायिक संस्थाका दीपा राई प्रथम, नयाँ गोरेटोकै गौरीमाया लिम्बू द्वितीय, शान्ती महिला सामुदायिक संस्थाकी सीता भण्डारी तृतीय भएका थिए भने नयाँ गोरेटोकी शान्तीमाया लिम्बूले सान्त्वना पुरस्कार पाएकी थिइन् ।

प्रदर्शनीमा विजेता समूहका सदस्यहरूलाई आयोजक संस्थाको तर्फबाट नगद पुरस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।
सो अवसरमा साविक डाँडाबजार गाविसका ९ वटै वडामा विगत लामो समयदेखि व्यवसायिक रूपमा कृषि पेशा अँगाल्दै आएका ९ जना उत्कृष्ट व्यवसायिक कृषकहरूलाई पनि नगदसहित सम्मान–पत्रले सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा ललित याक्खा, नगेन्द्र बानियाँ, महेन्द्रकुमारी याक्खा, बुद्धमाया लिम्बू, लालबहादुर लिम्बू, रामकुमारी राई याक्खा, मानबहादुर मगर, नन्दलाल मगर र पदमबहादुर मगर रहेका छन् ।

एक दिने सामुदायिक संस्थास्तरीय खुल्ला कृषि मेला प्रदर्शनीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कुमारजङ याक्खाले कृषि उपजका स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्धेश्यले कृषि मेला तथा प्रदर्शनी आयोजना गरिएको बताए । उनले गाउँका किसानलाई हौसला प्रदान गरी बढीभन्दा बढी व्यवसायिक बनाउन यस्ताखाले कार्यक्रम आगामी दिनमा अन्य वडामा पनि आयोजना गरिने बताए । उनले कृषि मेलामा सहभागी किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई विषादीमुक्त अर्गानिक कृषि उत्पादन गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी वडा नंं. ५ का वडाध्यक्ष पलकबहादुर बस्नेतले वडा तहमा रहेका कृषिसँग सम्बन्धित सबैखाले कृषक समूहहरूलाई समेत यस्ताखाले कार्यक्रममा आगामी दिनमा सहभागी गराइने बताएका छन् । उनले अधिकांश वडाबासी कृषक भएकाले ५ नम्बर वडा कार्यालयले कृषिमा आधारित कार्यक्रमहरू बढीभन्दा बढी आगामी दिनमा सञ्चालन गर्ने बताए ।

धरान कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले धरानको कृषि थोक बजार धनकुटा जिल्लाको कृषिउपजका वस्तुहरूमा परनिर्भर रहेको बताए । उनले राम्रो गुणस्तरको उत्पादन गरेर बढीभन्दा बढी मूल्य लिन कृषकहरूलाई आग्रह गरेका छन् । भट्टराईले धनकुटाबाट कृषिउपजका वस्तु आयो भने धरानको कृषिबजार छ, अन्यथा बन्द हुने बताए ।

उनले डाँडाबजारको काउली ग्रेडिङमा राम्रो भएको कारण धरानमा ब्राण्डेड भएको र मूल्य पनि सिँधुवाबाट आउनेभन्दा राम्रो पाउने गरेको बताए । उनले साँगुरीगढी गाउँपालिका कार्यालयलाई तरकारीको बजारको मूल्य तोक्न आग्रह गरे । साथै सडकमा डाँडाबजारबाट जाने तरकारी, खसी, बोका, सुँगुरलगायत कृषिउपजका वस्तुलाई ट्राफिकले बढीभन्दा बढी दुःख दिने गरेकाले त्यसतर्फ गाउँपालिकाको ध्यान जानुपर्नेमा जोड दिए । उनले कृषकले तिर्ने करको बिल सम्बन्धित निकायले नदिने गरेको पनि गुनासो गरे ।

डाँडाबजार सामुदायिक विकास कोषका अध्यक्ष भीमशङ्कर काफ्लेको अध्यक्षतामा सम्पन्न खुल्ला कृषि मेला प्रदर्शनी उद्घाटन सत्रमा साँगुरीगढी वडा नंं.५ का वडासदस्यहरू नन्दलाल मगर, चित्रकला मगर, धनबहादुर लिम्बू, आदिवासी जनजाति पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष सन्तवीर लामा, कृषिबजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराई, थोक व्यापारी ज्ञानबहादुर बस्नेत, नेकपा डाँडाबजारका नवराज लिम्बू, नेपाली काङ्ग्रेसका युवराज राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कोषका अध्यक्ष काफ्लेका अनुसार प्रदर्शनीमा कृषिउपजका वस्तुहरू गुणस्तरीय, अर्गानिक, प्राङ्गारिक र कृषक पूर्ण व्यवसायिक भएकाहरूलाई आधार मानेर छनौट गरिएको बताइएको छ । उनले तत्कालीन जिल्ला विकास समिति धनकुटाले वि.सं.२०५४ सालमा धनकुटा जिल्लाको १ नम्बर क्षेत्रमा ३ वटा र २ नं.क्षेत्रमा ४ वटा गरी जम्मा ७ वटा गाउँ विकास कार्यक्रम अन्तर्गत स्थापना गरिएको सामुदायिक विकास कोषमध्ये डाँडाबजार मात्र हालसम्म जीवित रहेको बताए । कोष स्थापनाताका हरेक संस्थालाई बीउ पुँजीको रूपमा १०–१० हजार दिएको बताए । हाल सामुदायिक विकास कोष डाँडाबजारमा १५ लाखभन्दा बढी संस्थागत बचत रहेको उनले बताए ।