धनकुटा । नेपाल संवत् ११४० को अवसरमा नेवारी साँस्कृतिक ¥याली तथा शुभकामना आदान–प्रदान कार्यक्रम मङ्गलबार धनकुटामा सम्पन्न भएको छ ।
धनकुटा जिल्लाभित्र र बाहिरका गरी २० जना विभिन्न क्षेत्रमा योगदान गरेका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । सिरान बजार युवा समूह धनकुटा–६ को व्यवस्थापन तथा संयोजनमा नेवा पुचः धनकुटाको आयोजनामा भएको सो कार्यक्रममा धनकुटा नगर र धनकुटा बाहिरका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा नेपाली साहित्य तथा लोकसङ्गीतका धरोहर एल.पी.जोशी, धनकुटाका ९२ वर्षीय रामबहादुर श्रेष्ठ, ९१ वर्षीया राज्यलक्ष्मी श्रेष्ठ, मिश्रीमैया श्रेष्ठ, लालकुमारी श्रेष्ठ, ८८ वर्षीया डम्बरकुमारी श्रेष्ठ, ८६ वर्षीया ज्वालादेवी श्रेष्ठ, ८४ वर्षीया धनलक्ष्मी शाक्य, धनलक्ष्मी श्रेष्ठ, लक्ष्मीदेवी श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, ८१ वर्षीया गङ्गादेवी श्रेष्ठ, गोपाल प्रधान रहेका छन् ।

त्यसैगरी धनकुटा बाहिरका चन्द्रभगत श्रेष्ठ, चञ्चलादेवी श्रेष्ठ, सत्यनारायण श्रेष्ठ, लक्ष्मीदेवी श्रेष्ठ, केदारलाल सिंह श्रेष्ठ, लक्ष्मणनारायण श्रेष्ठ रहेका छन् । त्यसैगरी ०७५ को एसईई परीक्षामा त्रिवेणी मावि धनकुटा–७ बाट सम्मिलित भई धनकुटा जिल्लाको नेवार समुदायका विद्यार्थीहरूमध्येबाट सर्वोकृष्ट अङ्क ल्याई उत्तीर्ण हुन सफल त्रिवेणी मावि धनकुटा–५ का निरज श्रेष्ठलाई नगदसहित पुरस्कृत एवम् सम्मान गरिएको छ ।

कार्यक्रम हुनुअघि धनकुटा–७ श्रीवानी चौक स्थित शङ्खधर साख्वाःको सालिक रहेको चोकबाट नेवार समुदायका ज्येष्ठ सदस्यहरूबाट फूलटीका ग्रहण गरी आशिर्वाद लिएर शुरु भएको नेवारी साँस्कृतिक र्याली धनकुटा बजारको विभिन्न भागहरूको परिक्रमा गरी शहीद भीमनारायण चौकमा पुगी शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी भएको थियो ।