इटहरी । पछिल्लो समय बलात्कारका दुई घटना सार्वजनिक भएका छन् । दुवै घटनाको प्रकृति हेर्दा शुरुमा मिलेमतोमा यौन सम्बन्ध र पछि बलात्कारको उजुरी दिइएको हुन सक्ने चर्चा चलेपछि प्रहरीले समेत यी घटनालाई शङ्काको घेरामा राखेको छ ।
केही दिनअघि इटहरी उपमहानगरपालिका–२० तरहरास्थित पानीपियामा भोजपुर घर भई इटहरी बस्दै आएकी विवाहित युवती बलात्कृत भइन् । चिनजानकै परपुरुषसँग घुम्न गएको अवस्थामा तरहराको जङ्गलमा बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी पर्यो । उजुरीकै आधारमा इटहरी–८ गैसारका विजय राई पक्राउ परेका छन् । युवतीको उजुरीमा विजयले जङ्गलमा दुई मितिमा २ पटक बलात्कार गरेको उल्लेख छ ।
राईले भनेको नमाने ज्यान नै लिने र परिवारको सदस्यलाई समेत मार्ने धाकधम्की दिई जबरजस्ती मोटरसाइकलमा लगेर बिहानको समयमा जङ्गलमा जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । युवतीले लगाएको सुनको सिक्रीसमेत लगी फरार भएको भनी जाहेरीको आधारमा राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।
तर विवाहित युवती अर्को युवकसँग पटक–पटक जङ्गलमा मोटरसाइकलमा बसेर किन गइन् ? भन्ने प्रश्नमा चाहिँ शङ्का उपशङ्का हुने प्रहरी बताउँछ । पछिल्लो समयमा बलात्कारको घटना नाटकजस्तै हुन थालेको छ । युवतीको उजुरीको आधारमा करणीसम्बन्धी कसुर र जबरजस्ती करणीमा राईलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
केही साताअघि इटहरीमा एक युवतीलाई पाँचजना युवाको समूहले बलात्कार गरेको सार्वजनिक भयो । कोशी राजमार्ग अन्तर्गत विराटनगर लाइनको साथी पेट्रोल पम्पनजिकै गाडीमा काम गर्ने युवाहरूले ती युवतीमाथि बलात्कार गरेका थिए । धरान घर भएकी ती युवती बेलबारी हिँडेकीे थिइन् ।
धरानबाट को.१ ख ४६२६ नम्बरको बसमा राखेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालैपालो बलात्कार गरेको प्रहरीले बताएको छ । तर बेलबारी हिँडेकी ती युवती विराटनगर लाइन पुगुञ्जेल किन बोलिनन् ? वा किन प्रतिवाद गरिनन् भन्नेतर्फ प्रहरीले आशङ्का गरेको छ । युवती विराटगर लाइन जाँदा चौकमा किन हो–हल्ला गरिनन् ? यो प्रश्न शङ्कास्पद रहेको प्रहरीले बताएको छ । उक्त घटनामा इलाका प्रहरी कार्यालय इटहरीले बलात्कार आरोपमा सुन्दरहरैंचाका बस चालक विकास कसई, झापा सुरुङ्गाका सुरज थापा, सिरहाका सुजेन्द्र भुजेललगायतलाई पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले यस्ता घटनामा युवतीलाई बाध्य बनाएर बलात्कार गरेको पनि हुनसक्ने बताए । उनी यी दुई घटनामा केही न केही शङ्का गर्ने ठाउँ रहेको बताउँछन् । उनी भन्छन्, ‘केटी साथीहरू घुम्न जाँदा पनि बलात्कारको प्रयास हुने गरेको छ । चिनजानका साथीहरूबाटै पनि बलात्कारको घटना हुने गरेको छ । यस विषयमा विस्तृतमा अनुसन्धान हुनु जरुरी छ ।’