बराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको वडानम्बर १ स्थित वराहक्षेत्र मन्दिरपरिसर क्षेत्रमा माछामासु र मदिराको बेचबिखनमा रोक लगाइएपछि स्थानीय व्यापारीले हतारमा गरिएको निर्णय भन्दै त्यसको विरोध गरेका छन् ।

बराहक्षेत्र नगरपालिकाको धार्मिक मठमन्दिर रहेको ५ सय मिटर क्षेत्रमा विशेषगरी चतरा र बराह भगवानको मन्दिरको पाँच सय मिटर छेउछाउ माछामासु र मदिराजन्य वस्तुको बिक्री वितरणमा लगाएको रोक लगाई कार्यान्वयन गरिएसँगै व्यवसायीले त्यसको विरोध गरेका हुन् । केही महिनाअघि मात्र वराहक्षेत्र नगरपालिकाको दोस्रो नगरसभाले निर्णय पारित गर्दै मन्दिर क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको बिक्रीमा कडाइका साथ रोक लगाउने निर्णय गरेको थियो ।

तर निर्णय कार्यान्वयन गराउने विषयमा वडाध्यक्ष सुरेश श्रेष्ठ र नगरप्रमुख निलम खनालबीच विवाद भएको थियो । निर्णयको धेरै समयपछि मात्र कात्तिक ६ गतेबाट प्रहरी चौकीले माछामासु र मदिराको खुल्ला बिक्रीमा कडाइका साथ रोक लगाएको थियो । धनकुटाबाट बराहक्षेत्र बजारमा बेच्न ल्याइएको करिब सय लिटर घरेलु मदिरा जफत गरेको असइ भीमबहादुर भुजेलले बताए । उनले दैनिक रूपमा बजार अनुगमन गर्ने गरेको पनि बताए ।

यता स्थानीय व्यापारी कुमार र महेश श्रेष्ठले भने नगरपालिकाले हतारमा निर्णय गरेको भन्दै रोष प्रकट गरे । एकातिर राज्यले मदिरा बिक्री गर्ने लाइसेन्स दिने र अर्कोतिर कर पनि असुल्ने अनि एक्कासि मदिरा बिक्री नगर्नू भनी रोक पनि लगाउने गरेको भन्दै स्थानीय व्यवसायी आक्रोसित छन् । ‘हाम्रो के दोष, हामीलाई वैकल्पिक व्यवस्था गर्नुपर्छ कि पर्दैन ?’ श्रेष्ठद्वयलाई उद्धृत गर्दै बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले भने, ं‘अहिले हामी होटल व्यवसायी मारमा परेका छौं ।’

उनीहरूले आफूहरू पनि धार्मिक मठमन्दिर क्षेत्रमा माछामासु तथा मदिराको बिक्रीमा रोक लगाउने पक्षमा रहेको तर त्यसको वैकल्पिक व्यवस्था हुनुपर्ने बताउँछन् । यता वडानम्बर १ अध्यक्ष सुरेश श्रेष्ठले नगरपालिकाले गरेको निर्णयभन्दा आफूमाथि नभएको र मन्दिर क्षेत्रमा माछामासु र मदिराको बिक्रीमा लगाइएको रोक जायज भएकोले निर्णय सबैले मान्नुपर्ने जिकिर गरे ।