भद्रपुर । भारतीय नम्बर प्लेटको सवारीसाधन चढेर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक सुनको गरगहनासहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला सिलगुढी बस्ने ४३ वर्षीय रघुबरप्रसाद साह रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । सिसी क्यामेरा फुटेजको सहयोगमा भारतीय नागरिक साहलाई ठुलो परिणामको सुनको गरगहना चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

कमल गाउँपालिका ६ स्थायी घर भई हाल बिर्तामोड नगरपालिका ५ मा डेरा गरी बस्ने ३५ बर्षीया ललिता सापकोटा, गीता पौडेल र ३५ बर्षीया मधु गुप्ताको घरबाट कोही नभएको मौका छोपी साहले चोरी गरेको डिएसपी श्रेष्ठको भनाइ छ । एकै पटक तीन वटा घरमा चोरी भएको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले सिसी क्यामेराको फुटेज हेरेर साहको पहिचान गरी बिर्तामोड ५ बाट पक्राउ गरेको उनले बताए ।

डब्लु बी ७४ एम २७२४ नम्बरको जिपमा एक्लै नेपाल आएका शाहा काँकडभिट्टा नाकाबाट नेपाल छिरेर बिर्तामोडमा चोरी गरी भारत फर्किने क्रममा पक्राउ परेको उनको भनाइ छ । उनको गाडी चेकजाँच गर्दा चोरी गरिएको लाखौँ मूल्य बराबरको सुन तथा चाँदीका गरगहना, नेपाली ३८ हजार र भारतीय१३ हजार ७ सय रुपैयाँ बरामद भएको उनले बताए ।

बरामद भएको गरगहना र नगदसहित साहलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जनाइएको छ । यसअघि पनि मेचीनगर र भद्रपुर क्षेत्रमा भारतीय नम्बर प्लेटको गाडी चढेर दिउँसै चोरी तथा डाका घटना झापामा भइसकेको छ ।