धनकुटा/ धनकुटा नगरपालिका–७ अन्तर्गत पर्ने आठपहरिया जातिको बसोवास रहेको फुङ्गसुवा गाउँमा ६ मिटर चौडा भएको ३ किलो मिटर ग्रामीण कृषि सडक विस्तार गर्ने कार्य सम्पन्न भएको छ ।
धनकुटा नगरपालिका वडा नं.७ का वडाध्यक्ष जङ्गबहादुर आठपहरियाको पहलमा प्रदेश सरकार भौतिक मन्त्रालयको ९ लाख आर्थिक सहयोगमा घुमाउने चौतारोदेखि फुङ्गसुवासम्मको करिब ३ किलोमिटर ट्रयाक खोल्ने कार्यसहितको ग्रामीण कृषि सडक निर्माण कार्य सम्पन्न भएको हो । जिल्ला सदरमुकाम धनकुटा वजार देखी नजिकै भएर पनि फुङ्गसुवावासी आठपहरियाहरूको गाउँमा पहिलो पटक मोटरवाटो पुगेको वडा नं.७ का वडाध्यक्ष जङ्गबहादुर आठपहरियाले बताए । उनले जिल्ला सदरमुकाम नजिकै भएर पनि फुङ्गसुवा गाउँमा मोटरबाटो यस अघि पुग्न नसकेको बताए । शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुर्टात प्रदेश सरकारको भौतिक मन्त्रालयको ९ लाख आर्थिक सहयोगमा ग्रामीण कृषि सडक निर्माण कार्य दशैं अघि नै सम्पन्न भएको अध्यक्ष आठपहरियाले बताए ।
त्यसैगरी सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटामार्फत प्रदेश सरकारको भौतिक मन्त्रालयको ८ लाख आर्थिक सहयोगमा घुमाउने चौतारा देखि टेकुनालासम्मको करिब २.५ किलो मिटर ग्रामीण कृषि सडक विस्तार गर्ने कार्य समेत सम्पन्न भएको छ । वडा नं.७ का वडाध्यक्ष आठपहरियाका अनुसार घुमाउने चौतारादेखि टेकुनालातर्फ जाने ग्रामीण सडक साँघुरो भएकाले कम्तीमा ६ मिटर चौडा हुने गरी विस्तार गरिएको बताएका छन् । उनले दुवै सडक विस्तार गर्ने काम उपभोक्ता समिति निर्माण गरेर सम्पन्न गरिएको बताए ।
उपभोक्ता आफै सक्रिय भएर लागेका कारण समयमै करिब २.५ किलोमिटर लामो ग्रामीण सडक विस्तार गर्ने कार्य सम्पन्न भएको घुमाउने चौतारा–टेकुनाला ग्रामीण कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र श्रेष्ठले बताए । त्यसैगरी घुमाउने–फुङ्गसुवा ग्रामिण कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजकुमार डङ्गोलका अनुसार स्थानीय उपभोक्ताले करिब ३ किलोमिटर सडकको ट्रयाक् खोल्नको लागि सहजता दिएको कारण समय मै निर्माण कार्य सम्पन्न भएको बताए ।
आ.व.०७६/०७७ मा वडा नं.७ ले सञ्चालन गर्ने अधिकांश भौतिक पूर्वाधार अन्तर्गतका योजनाहरू धमाधम कार्यान्वयनको चरणमा रहेको अध्यक्ष जङ्गबहादुर आठपहरियाले बताएका छन् । उनले निजामती आवाशीय माध्यमिक विद्यालयको मुलगेटदेखि चुलीवन भ्यूटावरसम्म सडक विस्तारको लागि प्रदेश सरकारको भौतिक मन्त्रालयले सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटामार्फत ३० लाख रुपैयाँ विनियोजन भई कार्यान्वयनको चरणमा आएको बताए ।
निजामती आवाशीय माविदेखि भ्यूटावरसम्म पर्यटकीय सडकको रूपमा विकास गर्न लागिएको सडकको दूरी करिब २ किलो मिटर रहेको छ । त्यसैगरी जिरोपोइन्टदेखि साकार स्कुलसम्म सडक विस्तारको लागि १० लाख, जिमीथानदेखि छोटी ९ लाख, दोर्जे डाँडा देखी छमुवा खोला ८ लाख, सितलपाटी बालमन्दिर सडक विस्तार १० लाख, चुलीवन पार्क जाने सिडी निर्माणको लागि १० लाख प्रदेश सरकारको भौतिक मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत् कार्यान्वयन हुन बाँकी रहेको अध्यक्ष आठपहरियाले बताए । उनले धनकुटा बजारको सबैभन्दा व्यस्त बजार हुलाक टोलको चुवाको बोटदेखि घुमाउने चौतारासम्म कालपत्रे गर्नको लागि नगरपालिकाले ३५ लाख रुपयाँ विनियोजन गरी आवश्यक प्रक्रिया अघि बढिसकेको जनाए ।
लक्षित समुदायको क्षमता विकासको लागि १० लाख
धनकुटा नगरपालिका वडा नं.७ को लागि आ.व.०७६/०७७ को लागी कुल बजेट भने ६० लाख मात्र रहेको छ । वडाको विकासको लागि प्राप्त ६० लाख मध्येबाट चुवावुङ–फुङ्गसुवा खानेपानी योजनाको जम्मा ३६ घरको लागि १५ लाख, टोड्के–टमुवा ग्रामीण कृषि सडकको लागि ५ लाख, लक्षित समुदायको क्षमता विकासको लागि १० लाख रुपैयाँ विनियोजन भएको वडा नं.७ को वडा कार्यालयले जनाएको छ । वडावासीलाई लक्षित समुदायको बजेट तथा कार्यक्रममार्फत उनीहरूको भाषा, संस्कार, संस्कृतिदेखि लिएर समुदायगत क्षमता विकासको लागि १० लाख रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष जङ्गबहादुर आठपहरियाले बताए । बाँकी बजेट तथा कार्यक्रमहरू भने वडाबासीको र चाहना अनुरूप छनौट भई आएका विभिन्न योजनाहरूमा विनियोजन भई कार्यान्वयन भइरहेको वडाध्यक्ष आठपहरियाले ब्लाष्टलाई बताए ।































