भद्रपुर । अर्थमन्त्री युवराज खतिवडाले नेपालमा उत्पादित वस्तु भारत वा अन्य मुलुकबाट अवैधरुपमा भित्रिँदा त्यसको असर नेपाली उत्पादकलाई पर्ने भएकाले त्यसतर्फ गम्भीर भएर लाग्न निर्देशन दिएका छन् ।
मेची भन्सार कार्यालय काँकडभिट्टाको अनुगमनका क्रममा मन्त्री खतिवडाले भन्सार परिसरमा आयोजित सरोकारवाला निकायसँग सक्षिप्त अन्तरक्रिया गदैं सीमाक्षेत्रबाट हुने अवैध व्यापारलाई नियन्त्रण गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका थिए ।
खुला सीमाको फाइदा उठाएर चोरी, निकासी तथा पैठारी बढ्ने हुँदा यसको नियन्त्रणमा सक्रियपुर्वक लाग्न समेत मतहतका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए । विभिन्न नाकाबाट अवैधरुपमा हुने चोरी निकासी पैठारीलाई मुलधारमा ल्याएर प्रज्ञापन पत्र मार्फत कारोबार गर्न व्यापारीलाई प्रोत्साहन गर्नुपर्ने मन्त्री खतिवडाको जोड थियो ।
सरकार देशबाट भ्रष्टचार शुन्यमा झार्ने उद्घोषसहित अघि बढेकोले चोरी पैठारी नियन्त्रणका नाममा कुनै कर्मचारी आर्थिक प्रलोभनमा परे वा सरकारलाई असहयोग गरे कारबाहीमा पर्ने मन्त्री खतिवडाले चेतावनी दिए ।
व्यापारीले घोषणा गरेको आफ्ना मालवस्तुको मुल्याङ्कनप्रति ध्यान दिन समेत मन्त्री खतिवडाले भन्सार अधिकारीहरुलाई निर्देशन गरे । पूर्वी नाकाबाट हुने अवैध व्यापारको नियन्त्रण अहिलेसम्म सन्तोषजनक नै रहेको भन्दैं मन्त्री खतिवडाले यसलाई अझ शुन्यमै झार्न सवैक्षेत्र एक आपसमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
मन्त्री खतिवडाले भन्सार अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहित नियमित गस्ती परिचालनमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले कार्यालयबाट भएका मुख्य मुख्य कार्यहरु तथा कार्यालयको संक्षिप्त विवरण मन्त्री समक्ष प्रस्तुत गरेका थिए ।
मेची भन्सार कार्यालय अन्तर्गत आठमौजा गौरीगञ्ज, गाडागल्ली, बाहुनडाँगी, नकलबन्दा, सतिघट्टा, महाभारा गरी ६ वटा छोटी भन्सार रहेपनि हाल आठमौजा गौरीगञ्ज, बाहुनडाँगी, नकलबन्दा छोटी भन्सारमात्र सञ्चालनमा रहेको बाँकी बन्द अवस्थामा रहेको अर्यालले जानकारी गराएका थिए ।
अन्तरक्रियामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी गोविन्दकुमार कार्की, सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर राजस्व एवम् भन्सार गस्ती सुरक्षा काँकडभिट्टाका डिएसपी ज्ञानमणी पौडेललगायत भन्सार अधिकृतहरुको सहभागिता थियो ।