इनरुवा/ सुनसरी सदरमुकाम इनरुवादेखि हरिनगरा गाउँपालिकाको रामनगर भुटहासम्मका मरिकले दिनरात एक गरेर छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त बनेका छन् ।

जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा रहेका मरिक समुदायले छठ आउन केही दिन बाँकी छँदा उनीहरुलाई बाँसको सामग्री बनाउन भ्याइनभ्याइ भएको छ । छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन व्यस्त बनेको हरिनगरका वीरेन्द्र मरिकको भनाइ छ ।

छठ नजिकिएको बेला बाँसका सामग्रीको माग अत्यधिक हुने गरेको र त्यो बेला बनाउनका लागि भ्याइनभ्याइ हुने भएकाले अहिलेदेखि नै आफूहरु बाँसको सामग्री बनाउन लागेको मरिक समुदायले बताएका छन् ।

गाउँगाउँबाट अहिले २०० देखि २५० सम्ममा बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको स्थानीयवासी गीता मरिकले बताए ।

छठपर्वमा बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्ने भएकाले वर्षभरि आम्दनी गर्न नपाएका मरिक समुदायलाई यस पर्वको बेलामा राम्रो आम्दानीको अवसर समेत भएकाले उनीहरु व्यस्त हुने गरेका छन् ।

राम्रो आन्दानी गर्ने उद्देश्यका साथ एक महिना अगाडिदेखि नै बाँसको सामग्री बनाउन उनीहरु व्यस्त भएका छन् । बाँसको सामग्री अरु बेला कमैमात्र बिक्री हुने गरेको भएपनि पर्वमा अत्यधिक मात्रामा बिक्री हुने गरेको मरिक समुदायका स्थानीयवासीको भनाइ छ ।

छठपर्व मनाउने प्रत्येक वर्ष बढेकाले बाँसको सामग्री सबैलाई पु¥याउन नै गाह्रो हुने भएकाले अहिलेदेखि नै सामग्री बनाउन मरिक व्यस्त बनेका हुन् । छठमा बाँसका सामग्री पु¥याउनलाई आफूहरु महिना दिन अघिबाट नै काममा व्यस्त बनेको स्थानीयवासी भटाई मरिकले बताए ।

हरिनगर र भुटहाबाट २०० देखि २५० सम्ममा बाँस खरीद गरी सामग्री बनाई स्थानीयवासीको छठलाई सहज पार्ने प्रयासमा आफूहरु रहेको राधे मरिकले बताए ।

यता भुटाहाका मरिकजस्तै लौकही, श्रीपुर, मध्यहर्षाही, भोक्राहा, इनरुवा, डुम्राहा र झुम्काका मरिक समेत छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त रहेको पाइएको छ ।

यसरी मरिक समुदाय आधुनिकतासँगै बाँसको सामग्रीको मांग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्री हुने भएकाले त्यसैमा भएपनि चित्त बुझाउन बाध्य भएका छन् । उनीहरुले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसको सामग्री नभइ त्यसको विकल्प वा व्यवसायीकरणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।