देउराली/ तिहार नजिकिदै जादा धरानका बजार क्षेत्रहरूमा तिहारका लागि आवश्यक वस्तुहरूको खरीद बिक्री बढ्दै गएको छ । धरानको मुख्य बजार क्षेत्रमा मात्र नभएर फुटपाथहरूमा पनि यतिबेला तिहारका लागि आवश्यक पर्ने पूजाका सामग्रीहहरू सप्तरङ्गी रङ, घरआँगनमा सजाउन प्रयोग हुने विभिन्न प्रकारका बत्तीहरूका साथै, कृत्रिम फूलहरूले सजिसजाउ रहेको छ ।

भानुचौक आसपास, देशीलाइन, महेन्द्र पथ, पुरानो बजार, नयाँबजार क्षेत्रका पसलहरूमा मात्र नभएर फुटपाथमा पनि यतिबेला तिहार लक्षित मौसमी व्यापारका लागि व्यापारीहरू उत्साहित भएको देखिन्छ । यहाँका बजार क्षेत्रमात्र नभएर फुटपाथमा पनि तिहारका लागी आवश्यक सामाग्रीहरूले भरिभराउ छन् ।

फलफुल, फूल, भाइमसला, लक्ष्मी गणेश जस्ता देवी देवताका मूर्ति, तस्वीर, विभिन्न प्रकारका लाइटहरू, क्याण्डील, मात्र भनएर भाइटीकामा दाजु– भाइलाई चेलिबेटीले उपहार स्वरूप दिने गरेका ढाका टोपी, गलबन्दीलगायतका सामग्रीसहित विभिन्न प्रकारका परिकारहरूले धरानका अधिकांश बजारक्षेत्र ढाकेको छ । नजिकिदै गएको तिहारका लागि घर आँगन सजाउने देखि लिएर लक्ष्मीपूजा तथा भाइटीकाका लागि आवश्यक पूजा सामग्रीहरू खरिद गर्न दैनिक भीड बढ्दै गएको छ । यसरी बजारमा तिहार लक्षित खरिद कर्ताहरूको भीड बढ्दै जाँदा अरूबेला अन्य वस्तुको व्यापार गरिरहेका व्यापारीहरू पनि तिहारको मौसमी व्यापारमा उत्साहित भएको देखिन्छ ।

विशेष गरी तरकारीको खुद्रा व्यापार गरिरहेका भानु सब्जीबजार, नयाँबजार लगायतका बजार क्षेत्रहरूमा यतिबेला तरकारी तथा फलफुलको व्यापार छोडेर व्यापारीहरू तिहारका लागि आवश्यक सामग्रीहरूको व्यापार गरिरहेका छन् । तिहारको समयमा तरकारीभन्दा पनि तिहारका लागि आवश्यक वस्तुहरू खोज्ने धेरै हुने भएकाले तिहारभरि तरकारी बेच्न छोडेर आफूहरू तिहारका लागि आवश्यक सामाग्री बेच्ने गरेको नयाँबजारमा तरकारी व्यापार गर्दै आएका एक व्यापारीले बताए ।

उनले भने, ‘तिहारको समय भएकोले तिहारको लागि आवश्यक सामग्री राखेको छु, अघिल्लो वर्ष पनि राखेको थिएँ ।’ यतिबेला तरकारीभन्दा पनि तिहारका लागि आवश्यक सामानहरू खरिद गर्ने नै बढी आउने गरेका छन् । यतिबेला तरकारी भन्दा यस्तै सामानहरू बढी बिक्री हुने भएको तिहारभरि तरकारी बेच्दैनौ । तरकारी बजार भित्रै फलफुल तथा तरकारीको व्यापार गर्दै आएका विनोद चौधरी भन्छन् ‘बजार हो, सबै खाले व्यापार गर्नुपर्छ ।

पोहोरको साल पनि तिहारका सामानहरू राखेको थिएँ यसपालि पनि राखेको छु । यतिबेला त तरकारी सोध्ने भन्दा पनि यस्तै खोज्नेहरू आउँछन् । ‘यसरी तिहारको समयमा तरकारी बजारभित्र तिहार लक्षित सामाग्रीहरूको व्यापार गर्ने उनीहरूको दैनिक १५ देखि ३० हजारको व्यापार हुने गरेको त्यहाँका व्यापारीहरू बताउँछन् । बजारमा तिहारका सामाग्रीहरूको खोजी बढेसँगै तरकारी बजारभित्र तिहारको मौसमी व्यापार गर्ने लहर चलिरहेको भए पनि तरकारीको व्यापारमा खासै तलमाथि नभएको नयाँ बजारभित्रै तरकारीको व्यापार गरिरहेका कुमार कार्की बताउँछन् । तिहार लक्षित गरिने मौसमी व्यापारमा दैनिक २५ सयदेखि ५ हजारसम्म कमाइ हुने भानुचौकमा दियो बाल्न प्रयोग हुने माटाका पालाको व्यापार गर्देै आएकी लालमाया तामाङका बताउँछिन् ।

‘व्यापार सन्तोस जनक छैन’
यतिबेला धरानका अधिकांश घरहरू साँझपख विद्युतीय बत्तीहरूले सजिन थालेका छन् । लक्ष्मीपूजा, र भाइटीकाका लागि खरिद गर्ने उपभोक्ता फुटपाथमा रङ, लक्ष्मीका पोस्टर बेच्ने साना व्यापारीहरूदेखि ठूला पसलेहरूको बजार क्षेत्रमात्र नभएर फुटपाथमा पनि घुइँचो लाग्न थालेको छ । सयपत्री फूलका मालाहरूले घर सजाउने मान्यता भए पनि नेपालमा फूल खेती आवश्यकता पूरा गर्ने गरी नहुनाले सयपत्री फूल आवश्यकताभन्दा महङ्गो हुने भएकाले कृत्रिम फूल र लाइटहरूको प्रयोग बढ्दो छ ।

तथापि अघिल्लो वर्षको भन्दा यस वर्ष खासै व्यापार नभएको तिहारका लागि विभिन्न ठाउँबाट विद्युतीय लाइट तथा विद्युतीय जन्य सामाग्री ल्याई धरानमा व्यापार गर्ने व्यापारीहरूको भनाइ रहेको छ । उपभोक्तामा विभिन्न कारणले क्रय शक्तीको ह्रास भएका कारण र धेरै व्यापारीहरू भएर अस्वस्थकर प्रतिस्पर्धाका कारण यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा सोचे अनुरूप व्यापार नहुने धुलाबारी तथा काठमाडांैबाट तिहारका लागि विद्युतीय लाइटहरू ल्याई पुरानो बजारमा होलसेल तथा रिटेल व्यापार गर्ने श्रीकृष्ण उदासले बताउँछन् । उनी भन्छन् ‘बजारमा भीड त देखिएको छ तर डिमाण्ड छैन । पहिलाको जस्तो व्यापार छैन । मान्छेसँग पैसा पनि छैन र खरिद गर्ने इच्छा पनि कम भएको जस्तो देखिन्छ ।

tihar 6