विराटनगर/ मोरङमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सुरक्षा समितिको बैठकले तिहारमा राति १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको हो ।
स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्ति सुरक्षा व्यवस्थापनमा खलल पुर्याएको अभियोगमा कारबाही गरिने प्रशासनले जनाएको छ । देउसी र भैलोलगायतका कार्यक्रममा अरूलाई नकारात्मक असर पुग्ने गरी कुनै पनि गतिविधि नगर्नसमेत स्थानीय प्रशासनले सचेत गराएको छ । सार्वजनिक आवागमनलाई अवरोध पुग्नेगरी समेत कुनै पनि कार्यक्रम नगर्न स्थानीय प्रशासन कार्यालयले अनुरोध गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले रातको समयमा देउसी र भैलोलगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न नपाइने गरी जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको जानकारी दिए । चाडपर्वको बेला जुवाजन्य क्रियाकलाप गर्ने मदिरा सेवन गरी शान्ति सुरक्षामा खलल पुर्याउनेलाई जो कोहीलाई पनि कानूनबमोजिम कारबाहीको दायरामा ल्याउने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले चाडपर्व मर्यादित र व्यवस्थित रूपमा मनाउन सरोकारवाला सबै पक्षसँग आग्रह गरिएको बताए । मोरङका एसपी अधिकारीले भने, ‘कसैले देउसी र भैलो तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमको आवरणमा कुनै पनि व्यक्ति वा संस्थासँग लिखित वा मौखिक रूपमा जबर्जस्ती चन्दा माग गरेको पाइए त्यसमाथि पनि कडा कारबाही हुनेछ ।’
तिहारको समयमा पटका, आतसबाजी, रकेटजस्ता बारुदजन्य तथा विष्फोटकजन्य वस्तु ओसार–पसार तथा बेचबिखन गर्नेलाई समेत नियन्त्रणमा लिएर कारबाही गरिने उनले बताए । बारुदजन्य पदार्थ ओसार–पसार तथा बिक्रीवितरण नियन्त्रण गर्न सादा पोसाक र गस्तीसहितको प्रहरी टोली नै खटिएको छ । अहिले सुरक्षाकर्मीले दिनहँु बरामद गर्ने पटकाले पनि तिहारअगाडि नै पटकाको तस्करी बढेको देखिएको छ । अहिले सुरक्षा निकायले दिनहुँजसो विविधखाले पटका बरामद गर्न थालेको छ । प्रहरीका अनुसार बरामद पटकामा खोर्सानी बम, हुमन बम, झिरझिरे, सिल्भर क्र्याक्लिङ सट, रकेट बम, कमाण्डो बम, नागिन क्र्याकरलगायत बढी तस्करी हुने गरेको छ । चाडपर्वमा हुन सक्ने महँगी, कालोबजारी, अखाद्य पदार्थ, म्याद सकिएका पदार्थको भण्डारण, बिक्रीवितरणलाई प्रभावकारी रूपमा अनुगमन एवम् नियमन गरिने प्रशासनले जनाएको छ ।
































