धरान । नेपाल खानेपानी संस्थानको धरान शाखाका सवै कर्मचारीलाई संस्थान छाडेर आउन धरान खानेपानी व्यवस्थापन बोर्डले शुक्रबार पत्राचार गरेको छ । सरकारको निर्णय अनुसार संस्थानको सम्पती र दायित्व बोर्डमा हस्तान्तरण हुने भएकाले त्यहा कार्यरत सवै कर्मचारी बोर्डमा समायोजन हुन आग्रहसहित बोर्डले पत्राचार गरेको हो ।

कात्तिक ६ गते संस्थानका महाप्रवन्धक, बोर्डका पदाधिकारीको उपस्थितिमा खानेपानी मन्त्री विना मगरको अध्यक्षतामा बसेको बैठकले संस्थानका कर्मचारी तत्काल बोर्डमा आउनु पर्ने र खानेपानी व्यबस्थापन विरतणको कामलाइ निरन्तरता दिने निर्णय भएअनुसार संस्थानका कर्मचारी बोर्डमा आउनै पर्ने भएको हो ।

हाल धरान शाखाको संस्थानमा २३ जना स्थायी, १८ जना दैनिक ज्यालादारी र बांकी करार सहित ८० जना कर्मचारी कार्यरत छन् । उनीहरुले संस्थानले जडान गरेको करिव १७ हजार निजि धारामा खानेपानी वितरण गर्दै आएका थिए ।

धरानको खानेपानी समस्याको दीर्घकालिन समाधानकालागि एसियाली विकास बैंकको २२ मिलियन डलर ऋण तथा अनुदान सहयोगमा धरान खानेपानी आयोजना सुरु भएपछि अलग्गै बोर्ड गठन भएको थियो ।

सरकारले पनि संस्थानको सम्पती र दायित्व बोर्डमा हस्तान्तरण गर्नु पर्ने निर्णय गरेको थियो । तर हस्तान्तरण कार्यान्वयनमा ढिलाई भएपछि बोर्ड र संस्थानवीच सामान्य विवाद भएको थियो ।