दमक/ बजारमा समान किन्ने र बेच्नेको भीड देख्दा तिहार आइसकेको भान हुन्छ । तिहारका लागि आवश्यक पर्ने विभिन्न सामाग्री खरिद गर्ने उपभोक्ताको घुँइचो यतिबेला हरेक बजारमा देखिन्छ ।

दमकको मुख्य बजार स्थित शङ्खधर चोकमा हरेक सडकपटिमा दर्जनभन्दा बढी अस्थाई पसल थपिएका छन् । ती पसलहरूमा तिहारका लागि चाहिने विभिन्न सामाग्री बेच्न राखिएको छ । भाइटीकाको दिनमा चाहिने पान, सुपारी फूल सप्तरङ्गी टीकादेखि झिलिमिलि बत्ती, माछा ,फलफूल, बत्ती बाल्ने पाला किन्नेको भीड लागेको छ भने सप्तरङ्गी अबिर र फूलमालाले बजारको रौनकता बढाएको छ ।

दमकको पुरानो सब्जी बजारको प्रवेश ठाउँमा विभिन्न रङ्गी चङ्गी फूलहरूले झलमल्ल देखिएको छ । विभिन्न प्रकारका बत्ती, विभिन्न आकारका प्लाष्टिकका फूल र अन्य सामाग्रीको खरिद बिक्रीले तिहारको रौनक शुरु भएको भान गराउँछ । यही ठाउँमा तिहारको सामाग्री खरिद गर्न आएकी झापा कमल गाउँपालिका वडा नं ४ की मनु राई भन्छिन् भाइटीका आउने बेलामा बजार आउँदा रोजी रोजी किन्न पाइँदैन , यस बेलामा अउँदा सामान पनि भर्खर आएको हुन्छ अनि छानी छानी किन्न पाइन्छ । ’

तिहारका लागि आवश्यक पर्ने सबै सामान किनेर घर फर्कने योजनासहित दमक आएकी राई भन्छिन् बजारमा देखिएको प्लाष्टिकको फूल र भारतमा प्रयोग हुने कागजे फूलका सामाग्रीले चाहिँ यो हाम्रो तिहार पनि कतै भारततिरै त ढल्कँदै छैन भन्दै चिन्ता समेत गर्छिन् । दमकको नयाँ सब्जी बजार रोडमा भेटिएकी मोरङ मधुमल्लाकी अञ्जु पौडेल किराना पसलमा भेटिइन् । तिहारमा सेलरोटी पकाउनका लागि चिनीसहित अन्य सामाग्री खरिद गर्न दमकको बजार आएको उनले बताइन् ।

तिहारमा किन रोटी पकाइन्छ भन्ने प्रश्नमा उनले भनिन् ‘तिहारमा आफ्ना माइतीलाई मिठो खुवाउने चलन छ । उतिबेला देखी नै सेल रोटीलाई मिठो परिकार मानेका कारणले सेलरोटी पकाइन्छ क्यार’ उनले आफ्नो अनुमानको जवाफ सुनाइन् । सेलरोटी, अनर्सा, विभिन्न लड्डुलगायत परिकार अरू बेलाभन्दा तिहारमा र त्यो पनि भाइटीकाको दिन प्रयोग गर्दा त्यसले विशेष महत्व राख्ने भएकोले ती परिकार तयार पार्न आवश्यक सामाग्री खरिद गर्न बजार आएको पौडेलले बताइन् ।

दमक बजारमा भारतबाट ल्याइएका फूलजन्य प्लाष्टिकका सामाग्रीको व्यापार गर्ने रामशरण शर्माका बजारमा भीडभाड भएपनि ब्यापार सोचेजस्तो नभएको बताउँछन् । ‘बजार हेर्दा मान्छे धेरै आएको जस्तो देखिन्छ तर यहाँ तत्काल र अति आवश्यकीय सामाग्री बाहेकको किनबेच नै भएको छैन ।’ उनले भने । तिहारका लागि आवश्यक पर्ने सामाग्री अधिकांश भारतबाट आउने भएका कारणले पछिल्लो समय भारतीय बजारमै गएर किनमेल गर्ने बानीका कारण स्थानीय बजारमा व्यापार घटेको उनले बताए ।

भन्सारमा कडाइ नगरिँदा स्थानीय व्यापारीहरू मारमा परिरहेका छन् । उनले भने राज्यले यस्ता कुराहरूमा ध्यान दिन पर्यो । आफूहरूले सामान ल्याउँदा राज्यलाई राजस्व तिरेर ल्याउने तर आम नागरिक त्यही भारतीय बजारमा गएर राजस्व नै नतिरेर किनमेल गर्दा आफूहरू कसरी बाँच्ने उनले प्रश्न गरे ।

tihar1