दमक/ झापाको दमक–६ स्थित दमक मलको विद्युतीय लिफ्टको कन्ट्रोलरले च्यापेर एक कामदारको मृत्यु भएको छ ।
बिहीबार बिहान आठ बजे दमक–८ स्थित किरात चौकका ३५ वर्षीय सन्तोष मगरको विद्युत्तीय लिफ्टमा च्यापिएर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय दमकका अनुसार मलभित्रको निर्माणाधीन विद्युतीय लिफ्टमा वेल्डिङ गर्ने क्रममा माथिबाट लिफ्टको एक हजार किलोको कन्ट्रोलर मेसिन अचानक झरेर काम गरिरहेका मगरलाई किचेको थियो ।
यसरी किचेर सख्त घाइते मगरको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
लिफ्टको सम्पूर्ण जडान गर्ने काम सम्पन्न भइसकेको थियो । यसको बाहिरपट्टि सिसा लागउन फलामको पाता वेल्डिङ गर्र्दै गर्दा लिफ्टको स्वीच अन भएर कन्ट्रोलर मेसिन (लिफ्टलाई तल–माथि गर्ने गह्रौं ढिक्का) तल झरेर मगरको घाँटी र छातीमा किचेको थियो ।
































