इटहरी/ स्थानीय तह गठन भएको २ वर्ष पुग्दासम्म इटहरीका स्थानीय सरकार भाडाका घरमा बस्न बाध्य छन् भने साँघुरा कोठाबाट कार्यालयको दैनिक काम सम्पादन गर्दै आएका छन् । स्थानीय स्तरमा प्रशासनिक भवन नभएका कारण आवासीय घरका कोठाबाट काम चलाउनु परेको छ । इटहरी उपमहानगरपालिकाले वडा कार्यालय र कार्यकारी प्रखुखको लागि भाडाबापत लाखौं रुपैयाँ खर्च गर्दै आएको छ । कोठाभाडामा मात्र वार्षिक ३८ लाख ८८ हजार रुपैयाँ रकम खर्च गर्दै आएको छ । आफ्नै भवन नभएपछि इटहरी उपमहानगरले आफ्नो ११ वटा वडालाई भाडाकै कोठामा राख्दै आएको छ ।
स्थानीय सरकारका अधिकांश वडा कार्यालय भाडाका घरमा छन् । व्यवस्थित भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ भने कार्यालयमा भाडाका नाममा ठूलो धनराशिसमेत खर्च भएको छ । उपमहानगरपालिकाका २, ३, ४, ५, ८, ९, १०, ११, १३, १४ र १९ का वडा कार्यालय पनि भाडाका घरमै सञ्चालित छन् । इटहरीका केही वडाका भने भवन निर्माणाधीन छन् । इटहरी–२० तरहराको आफ्नै भवन छ । सानो भवन भएको भन्दै केही कोठाहरू थप गरिरहेको इटहरी–२० का वडाध्यक्ष मणिराम श्रेष्ठले बताए । सेवाग्राहीको भीडभाड हुने इटहरी–२० मा थप कोठाहरू थपिएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
‘सानो कोठा भएका वडा कार्यालयहरूमा सेवाग्राही कुनै काम लिएर आउँदा लाइनमा बसेर आउजाउ गर्नुपर्ने अवस्था छ’–अध्यक्ष श्रेष्ठले भने । इटहरीमा ११ वटा वडा कार्यालयको वार्षिक ३४ लाख ६८ हजार घरभाडा बुझाउँदै आएको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेलले बताए । वडा कार्यालय भाडामा सञ्चालन गरेबापत महिनाको २ लाख ८९ हजार रुपैयाँ भुक्तानी दिने गरेको जनाए ।
क्वार्टर भाडामा मासिक ३५ हजार
इटहरी उपमहानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत र उपसचिव बस्ने क्वार्टरको लागि मासिक ३५ हजार घरभाडा तिर्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत र उपसचिव सरहका कर्मचारीलाई इटहरी उपमहानगरपालिकाले नै क्वार्टरको भाडा तिर्र्दै आएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । ‘क्वार्टरको भाडा मासिक ३५ हजार तिर्र्दै आएका छौं’ –इटहरी उपमहानगरपालिकाका लेखाअधिकृत विकास पोखरेलले भने ।
वडाले सम्बन्धित क्षेत्रको चलनचल्तीको भाडा तिरिरहेका छन् । अहिले वडा कार्यालयहरूलाई भाडामा लिएर कामचलाउ गरिरहेको इटहरी उपमहानगरपालिकाका प्रशासन प्रमुख डम्बर कार्कीले बताए । अहिले भाडामा रहेका वडा कार्यालयहरूलाई कसरी आफ्नै भवनमा राख्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो ।
































