बिर्तामोड / झापाको बिर्तामोड–खुदुनाबारी सडक स्थानीयले फेरी बन्द गरेका छन् । सडक निर्माण नगरेर धुलो उडेको भन्दै बिहीबारदेखि अनिश्चितकालका लागि सडक बन्द गरिएको स्थानीयले बताएका छन् ।
सोही सडकको बिर्तामोड शनिश्चरे खण्डमा असोजको अन्तिम साता धुलोका कारण हिडडुल गर्न समस्या भएको भन्दै स्थानीयले बन्द गरेका थिए । नगरपालिकाले दैनिक पानी हाल्ने भनेर सहमति गरेपछि सो खण्डमा यातायात सुचारु भएको थियो । सोही सडकको शनिश्चरे–खुदुनावारी खण्डमा स्थानीयले बिहीबारदेखि बन्द गरेका छन् । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनिले समयमा सडक नबनाएको भन्दै स्थानीयले अनिश्चितकालिन सडक बन्द गरेका हुन् ।
सवारी साधनको कारण धुलो उढेर स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै स्थानीयले सडकमा यातायातका साधन चल्न दिएका छैनन् । कालोपत्रे भत्काए पछि उढेको धुलोको कारण सडक आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई स्वस्थ्यमा समस्या आएको हुँदा स्थानीयले बाटो बन्द गर्न बाध्य भएको धुलो पीडित युवा दिपक दुलालले बताए । ठेकेदार कम्पनिले कालोपत्रे गर्न थालेपछि मात्र बन्द सडक खोल्ने चेतावनी स्थानीयले दिएको उनले बताए । ठूला ठूला खाल्डा परेपछि नगरपालिकाले सडक जोतेको थियो । त्यसपछि धुलोका कारण घरहहरु तथा बाली नालीमा समेत असर परेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रबिधिक कार्यलय झापाले एक बर्षअघि टेण्डर आह्वान गरी ठेक्का लगाएको यो सडक खण्ड १५ महिना बिति सक्दा पनि निर्माणको काम शुरु नभए पछि स्थानीय आक्रोशित भएका हुन् । निर्माण कम्पनीले सडक भत्काउने भन्दा अरु केही काम नगरेको स्थानीयको आरोप छ । पूर्वाधार विकास कार्यालय झापाका कार्यलय प्रमुख रमेश श्रेष्ठले ८ करोड ९६ लाखमा लामा कन्ट्रक्सनले १५ महिना अघि ठेक्का लिएकको यो सडक खण्डमा केही काम भएको भए पनि चाडबाडको कारण देखाएर काममा आलटाल गरीरहेको बताए । उनले तिहारपछि जुनसुकै हालतमा ठेकेदार कम्पनिलाई सडक निर्माणको काममा लगाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
आगामी असार मसान्त सम्म निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनिले बताएको छ । लामा कन्ट्रक्सनले निर्माण गर्दै गरेको सडक आगामी असार मसान्त सम्म निर्माण सम्पन्न गरिने ठेकेदार कम्पनिका प्रमुख फुर्तेम्वा लामाले बताएका हुन । समयमा काम नभएको भन्दै सडकमा स्थानीयले सवारी साधन चल्न नदिएपछि उनले यस्तो बताएका हुन ।
शुरुमा जिल्ला प्रविधिक कार्यलय मार्फत ठेक्का पारेको भए पनि राज्य पुनःसंरचनाको कारण केही महिना काममा बाधा भएको उनले बताए । निर्मााण सामाग्री अभावका कारण समेत समयमा काम गर्न नसकेको उनको भनाई छ । कम्पनिले हाल सम्म सडकको किनारमा नाला खन्ने काम सकेकोे बताएको छ । सडक निर्माणको ३५ प्रतिशत काम सकिएको भन्दै लामाले तिहार लगत्तै काम सुचारु गर्ने बताए ।