भण्टाबारी/ निर्माणकार्य थालेको लगभग चार वर्ष बित्नै लाग्दा पूर्व पश्चिम मुख्य राजमार्ग जोड्ने पुल निर्माण हुन सकेको छैन । दुई वर्षमा निर्माण गर्ने सम्झौता भए पनि अहिलेसम्म पुल नबन्दा स्थानीय धुलो र हिलोबाट पीडित बनेका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पुल ११ वर्षअघि आएको बाढीले बगाएको थियो । त्यस अवधिमा उक्त पुल मर्मत तथा निर्माणको नाममा करोडौं रुपैयाँ खर्च गरे पनि पुल सञ्चालनमा आएको छैन । २०६५ सालमा कोशीको बाढीले उक्त पुल बगाएपछि हाल फलामे बेलीब्रीज पुलबाट गाडी आवतजावत हुने गरेको छ । सडक विभागले पक्की पुल निर्माण गर्नुपर्ने भएकाले बनाएको उक्त फलामे पुलसमेत म्याद नाघेको कारण जीर्ण बनेको छ । कोशी गाउँपालिका ८ भण्टाबारीमा अवस्थित पुल निर्माणकार्य गर्न अरनिको बाम्ती जेभी कम्पनीले ठेक्का लिएको हो । सम्झौता अवधिभन्दा लगभग २ वर्ष बढी बित्दासमेत उक्त कम्पनीलाई सडक विभागले कारबाही गर्नुपर्नेमा प्रश्रय दिने गरेको स्थानीयको गुनासो छ ।

मुख्य राजमार्गमा पर्ने पुल निर्माण हुन नसक्दा भण्टाबारीबासी धुलाले पीडित बनेको बताउँदै कोशी गाउँपालिका वार्ड नम्बर ८ का अध्यक्ष विन्देश्वर यादवले सम्झौता अवधिमा काम गर्न नसक्ने ठेकेदारलाई कारवाही हुनुपर्ने माग गर्छन् । ठेक्का पाएको कम्पनी र सडक विभागले पुल स्तरोन्नति र निर्माणकार्य नाममा करोडौं खर्चिए पनि पानी न छर्दा स्थानीय धुलोबाट आजित भएको उनले बताए ।

धुलोबाट सबैभन्दा बढी स्थानीय होटल सञ्चालकसँगै यात्रु र सशस्त्र प्रहरी प्रभावित हुने गरेका छन् । नियमित रूपमा पानी नछर्ने गरेकोले होटेल सञ्चालकसँगै सशस्त्र प्रहरी समेत धुलोबाट प्रभावित रहेको सशस्त्र प्रहरी बिओपी भण्टाबारीका इन्स्पेक्टर प्रेमसिंह विष्टले बताए । धुलोले ड्युटी गर्न निकै समस्या आउने गरेको बताउँदै विष्टले यसबारेमा जानकारी गराउन पटकपटक ठेकेदारसँग सम्पर्क गर्ने प्रयास विफल भएको बताए । पुल निर्माण नहुँदा दिनमा धुलो र राति दुर्घटनाको जोखिम रहेको उनले बताए । राजमार्गमा पर्ने पुल निर्माण गर्न बनाइएको वैकल्पिक बाटो एकतर्फी हुनुका साथै जीर्ण बनेको हुँदा दुर्घटनाको जोखिम बढेको हो ।

ठेकेदारको मनोमानीको कारणले पुल निर्माण कार्य नसकिएको र पानी पनि न छर्ने गरिएकोले स्थानीय सर्वसाधारण आक्रोशित भएको वडाध्यक्ष यादवको भनाइ छ । विभिन्न समस्या देखाउँदै पटकपटक निर्माण कार्य रोकिने गरेकोले २ वर्षमा बनिसक्नुपर्ने पुल ४ वर्षमा पनि बन्न नसकेको स्थानीय बताउँछन् । पुल निर्माण नभएकोले दैनिक यस सडक खण्ड हुँदै यात्रा गर्ने ठुला तथा साना सवार साधनलाई आवतजावत गर्न समस्या हुने गरेको छ । पुल निर्माणकार्यको जिम्मेवारी लिएका ठेकेदारसँग सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन । आफ्नो सम्पर्कमा पनि ठेकेदार नरहेको र लगभग सबै काम सकिएकोले छिटैपुल सञ्चालनमा आउने पुल रेखदेख गर्ने स्थानीय सकुर मियाँले बताए ।