विराटनगर/ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले दर्दनाक अवस्थाको बेवारिसे बेहोस बिरामीलाई सिरहाको लहानबाट उद्धार गरेका छन् । लहान नगरपालिका–३ मा बेवारिसे अवस्थामा रहेका बिरामीलाई डा.शर्माले उद्धार गरेर नोबेल अस्पताल ल्याई आईसियूमा राखेर निःशुल्क उपचार गरेका हुन् ।

लहान अस्पताल नजिक भेटिएका करिब ४० वर्षीय बेवारिसे पुरुषको अवस्था अत्यन्तै दर्दनाक थियो । उनको दाहिने खुट्टाको हड्डी पूर्ण रूपमा भाँचिएर घुँडाभन्दा मुनिको भाग छालाको भरमा मात्र झुण्डिएको थियो । भाँचिएको खुट्टाको उपचार नपाउँदा घाउमा किरा परेर दुर्गन्ध फैलनुका साथै झिँगाले घेरिएका थिए । धेरै दिनदेखि भुर्इंमा लडिरहेका उनको अवस्था अत्यन्तै दर्दनाक थियो । उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा रहेका उनलाई उद्धार गरेर नोबेल ल्याइएको हो ।

लहान अस्पतालमा कार्यरत डा.वृजेन्द्रकुमार साहले बेवारिसे बिरामीको अवस्थाबारे शर्मालाई जानकारी गराएर उनको उद्धारमा सहयोग गरेका थिए । गम्भीर अवस्थामा रहेका उनलाई लहान अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नोबेल ल्याइएको हो ।

शर्माले आपत् र अलपत्र अवस्थामा परेका व्यक्तिलाई सहयोग गर्नु मानवीय कर्तव्य भएकाले सहयोग गरेको बताए । उद्धार गरेर ल्याइएका बिरामीलाई नोबेल अस्पतालको भेन्टिलेटरमा राखिएको छ । चिकित्सकहरूका अनुसार उनको अवस्था गम्भीर छ । समाजसेवामा सक्रिय डा.शर्माले यसअघि पनि यस्ता धेरै बिरामीलाई उद्धार गरिसकेका छन् ।