धरान । श्रीमान्सँगको विवादका कारण धरान–१६ की ३८ वर्षीया एक महिलाले आगो लगाई आत्महत्याको प्रयास गरेकी छन् ।

सोमबार मध्यराति श्रीमान्सँगको विवादपछि मीरा राईले तारपिन तेल खन्याएर शरीरमा आगो लगाएकी थिइन् । आगोका कारण उनको शरीरकाे विभिन्न भाग जलेको छ । उनलाई तत्काल उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगरको म्याक्स हस्पिटलमा लगिएकाे छ । 

राई सामान्य बोल्न सक्ने अवस्थामा रहे पनि शरीर जलेका कारण समस्या भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ४२ वर्षीय श्रीमान् सुमन राई पनि श्रीमतीको शरीरमा लागेको आगो निभाउने क्रममा जलेर सामान्य घाइते बनेका छन् । उनको पनि म्याक्स हस्पिटलमै उपचार भइरहेको इप्रका धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

छिमेकीहरुको भनाइ उदृत गर्दै प्रहरीले उनीहरुबीच सामान्य विवाद हुने गरेको जनाएको छ । श्रीमान् मादक पदार्थ सेवन गर्ने गरेका कारण दैनिकजसो विवाद हुँदै आएको प्रहरी बताउँछ । तर, सोमबार राति के कारणले विवाद भएको थियो भन्ने विषयमा अनुसन्धानकै विषय रहेको इन्स्पेक्टर ओलीले जानकारी दिए ।