भद्रपुर/ बसमा यात्रुको एक लाख रुपैयाँ नगद चोरी गरेको आरोपमा दुई भारतीय महिला पक्राउ परेका छन् ।

सोमबार दिउँसो काँकडभिट्टाबाट बिर्तामोडतर्फ यात्रा गरिरहेकी अर्जुनधारा–२ की ४० वर्षीया बिमला रोक्का सार्कीको ब्यागबाट नगद चोरीको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

सार्कीको लेडिज ब्यागबाट रकम चोरी गर्ने भारत पानीटङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र सोही स्थानकी २५ वर्षीया कविता मण्डल रहेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

मेचीनगर नगरपालिका १३ स्थित चारआली चोकमा आइपुगेपछि रकम चोरी भएको थाहा पाएपछि महिलाको हुलियाँका आधारमा जिल्ला प्रहरी इलाका धुलाबारी र चारआली प्रहरीले संयुक्त रूपमा उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो ।

चेकजाँच गर्नेक्रममा चारआली मेट्रो पेट्रोल पम्प नजिकबाट काँकडभिट्टातर्फ टेम्पोमा जान लागेको अवस्थामा फेला पारिएको डिएसपी श्रेष्ठले जानकारी दिए । गुल्ठाको साथबाट नगद एकलाख फेला पारी दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारी राखिएको उनले बताए ।