भद्रपुर/ झापाको हल्दीबारी गाउँपालिकाले १ सय ४१ जना बिरामीलाई २४ लाख २० हजार रुपैयाँ नगद उपचार सहयोग गरेको छ । आर्थिक वर्ष ०७४।७५ देखि चालू वर्षको भदौसम्म रकम वितरण गरेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

‘म स्वास्थ्य मेरो गाउँ स्वास्थ्य ’भन्ने अभियान सञ्चालनमा ल्याएको गाउँपालिकाले कमजोर आर्थिक अवस्था भई उपचार गराउन नसकेका गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने विपन्न परिवारका व्यक्तिहरुलाइ जनता उपचार सहायता कोष मार्फत रकम उपलब्ध गराउँदै आएको हो । पालिकाले उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष ०७४÷७५ मा ३४ जना विरामीलाइ ७ लाख ९० हजार,०७५÷७६ मा ६६ जना बिरामीलाई १५ लाख ७५ हजार र चालु आर्थिक वर्षको भदौ महिनासम्म ४१ जनालाई १ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।

नागरिकहरूको स्वास्थ्योपचारमा केही मात्रामा आर्थिक सहयोग गर्ने र गाउँपालिका क्षेत्रभित्रको प्रवद्र्धनात्मक, निरोधात्मक एवम् प्रचारात्मक स्वास्थ्यप्रति प्रत्यक्ष तथा परोक्ष किसिमले संवेदनशीलता प्रदर्शन गर्दै सोही बमोजिमका क्रियाकलापमार्फत स्थानीयबासीको स्वास्थ्य स्थिति सुधारसँगै स्वस्थ र सुखी हल्दीबारीवासीको परिकल्पनालाई मूर्त रूप दिँदै समामाजिक न्यायको अनुभूतिसमेत गराउने सोचका साथ गाउँपालिकाको प्रथम गाउँसभाद्वारा स्थापित जनता उपचार सहायता कोष सञ्चालन निर्देशिका २०७४स्थापना गरेको थियो ।

पहिलो वर्ष स्थापना गरेको सहायता कोषमा २० लाख रुपैयाँ विनियोजन गरी ०७४ मङ्सीर ८ गतेबाट शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । पहिलो वर्ष परीक्षणको रूपमा शुरु गरिएको अभियानले गाउँपालिका भित्रका बिरामीको प्रभाव बढेर गएपछि थप व्यवस्थित र पारदर्शी गर्ने उद्देश्यले दोस्रो गाउँसभाबाट निर्देशिका ०७५ पारित गरिएको उनले जनाए । बिरामीले चिकित्सकले सिफारिस गरेको पत्रका साथ सम्बन्धित वडा कार्यालयबाट निक्र्योल भई गाउँपालिकामा वडाको सिफारिस आएपछि कोष परिचालन समितिले निर्णय गरेर बढीमा २५ हजार रुपैयाँ चेकमार्फत तत्काल रकम उपलब्ध गराउने उनको भनाई छ । बिरामीले पाउने रोग अनुसारको रकममा मृगौला तथा डायलाइसिस, क्यान्सर, मुटुको सर्जरी, प्यारालाइसिस र अन्य रोगहरुमा रकम पाउने उनले जनाए ।

परिचालन समितिमा गाउँपालिका उपाध्यक्ष संयोजक रहने गरी कार्यपालिकाले तोकेको एक महिलासहित तीन, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन शाखा प्रमुख वा उनले तोकेको लेखाको कर्मचारी सदस्य र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सदस्य सचिव रहने गरी ७ जनाको समिति रहेको जनता उपचार सहायता कोष सञ्चालन संयोजक डम्बर बहादुर गिरीले बताए । जनताले तिरेको कर जनता कै लागि भन्ने अनुभूति दिनलाई यो अभियान सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

पैसाको अभावमा उपचार गर्नबाट गाउँबासीहरूलाई वञ्चित हुन नदिन अभियानको शुरुवात गरिएको उनले बताए । उपचारमा मात्र नभई स्थापना गरेको कोषबाट महामारी तथा सङ्क्रामक , विपत्ति जस्ता घट्नालाई समेत सहयोगको व्यवस्थापन मिलाइने उनको भनाइ छ । सोही कोषबाट वर्थिङ् तथा ल्याब सञ्चालन जारी राखिएको उनले बताए । कोषको रकमबाट स्वास्थ्य संस्थाबाट जनतालाई निःशुल्क रूपमा उपलब्ध गराउनु पर्ने औषधि खरिदको लागि आवश्यक रकम उपलब्ध गराउने उनले जनाए । आर्थिक अवस्था कमजोर भएका जनताको उपचारमा केही रकम उपलब्ध गराएकोमा खुशी लागेको वडा नम्बर २ की सुमित्रा राजवंशी बताउँछिन् । श्रीमान् रामबहादुर राजवंशीको मुटुको बिरामी रहेको उनले बताइन् । उपचारको क्रममा उहाँको मृत्यु भएको उनले सुनाइन् । गाउँपालिकाले अघि सारेको अभियान राम्रो लागेको उनले बताइन् ।

गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने कुनै पनि नागरिकले पाउने आधारभूत सेवा सुविधा गाउँपालिकाले दिँदै आएको गाउँपालिका प्रमुख रविन्द्रप्रसाद लिङ्देनले बताए । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद प्रवद्र्धनका लागि गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । पैसाको अभावमा गाउँबासीहरू पीडामा बस्न नपरोस् भन्ने उद्देश्य लिएर शुरु गरिएको यस्तो अभियान झापामा पहिलो भएको उनको भनाइ छ ।