विराटनगर/ बलात्कार मुद्दामा पीडक पक्षले पीडितलाई धाकधम्की दिँदै पैसा दिएर मिल्न दबाव दिने गरेको पाइएको छ । मोरङमा सात महिनाअघि भएको बलात्कारको घटनाबाट पीडित बनेकी युवतीलाई पीडक पक्षका आफन्तले पैसा दिएर मिल्न दबाव दिने गरेको पाइएको हो ।
जिल्ला अदालत मोरङमा आइतबार दिउँसो बकपत्रका दिन आएकी ती पीडित महिला बेहोस भएर ढलेकी थिइन् । पीडक पक्षले पैसाको लोभ देखाउँदै दिएको विभिन्न दबाव र धम्कीका कारण उत्पन्न तनाव थेग्न नसकेर बकपत्रका दिन युवती अदालतमै बेहोस बनेको पीडित पक्षको भनाइ छ । बेहोस भएर अदालतपरिसरमा ढलेपछि ती महिलालाई उपचारको लागि विराटनगरस्थित कोशी अञ्चल अस्पतल पुर्याइएको थियो । उनलाई बकपत्रको दिन बलात्कार नभएर सहमतिमा भएको बकपत्रमा बयान दिन दबाव दिएको पीडित पक्षको भनाइ छ ।
२०७५ साल चैत २२ र २६ गते झापाको बिर्तामोड नगरपालिका–५ पञ्चमुखी टोलका ४५ वर्षीय अमित बास्तोलाले विराटनगर निवासी ती महिलालाई बलात्कार गरेको आरोप छ । गत चैत २५ गते पक्राउ गरेका बास्तोला मोरङ अदालतको गत साउन १३ गतेको थुनछेक बहसपछिको आदेशले अहिले पुर्पक्षको लागि थुनामा छन् । बलात्कार आरोपमा थुनामा रहेका बास्तोला मोरङको कर्सियास्थित नेपाल–बङ्गलादेश बैङ्कका शाखा कार्यालयमा शाखा प्रबन्धक थिए । उनले पाँच लाख रुपैयाँ ऋण उपलब्ध गराइदिने भन्दै प्रलोभन देखाएर बलात्कार गरेको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
अदालतमा आइतबार यही मुद्दाको बकपत्र थियो । घटनाका बारेमा सोध्न र बुझ्नका लागि पीडित युवती, पीडक बास्तोला तथा वादी र प्रतिवादी दुवै पक्षका साक्षीलाई अदालतले झिकाएको थियो । जिल्ला न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासमा बकपत्र शुरु हुनासाथ युवती बेहोस भएर ढलेकी हुन् । घटनाका बारेमा बुझ्नका लागि बकपत्रका क्रममा गरेको पहिलो प्रश्नको जवाफ दिइनसक्दै युवती बेहोस भएर ढलेको अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले बताए । पीडित नै बेहोस भएपछि वादी पक्षको बकपत्र आइतबार रोकिएको र पुनः बकपत्रका लागि सोमबार बोलाइएको उनले जानकारी दिए ।
पीडितका तर्फबाट चारजना साक्षी अदालतमा उपस्थित भएका थिए । प्रतिवादीका साक्षीको भने बकपत्र सकिएको छ । पीडित पक्षले भने पीडकका आफन्तले लामो समयदेखिको दबाव र धम्कीका कारण यस्तो अवस्था उत्पन्न भएको जनाएको छ । घटनामा संलग्न व्यक्ति थुनामा भए पनि उनको परिवारका सदस्य तथा साथीभाइले पैसामा मिलेर बकपत्रका क्रममा बलात्कारको घटना अस्वीकार गर्न दबाव दिँदै आएको पीडित पक्षको भनाइ छ । पीडितका एक आफन्तले पीडकका बुबा खगेन्द्र बास्तोला, साथी सञ्जोग गिरी र राजु श्रेष्ठले पैसामा घटना मिलाउन बारम्बार दबाव र विभिन्नखाले धम्की दिएको बताए । पैसामा पीडित युवतीलाई मिलाउने जिम्मा धरान घर भएका राजु श्रेष्ठले लिएको पीडित पक्षको भनाइ छ ।
चार लाख ५० हजार रुपैयाँ नगद र पाँच लाख ५० हजार रुपैयाँको चेक नै पीडित युवतीलाई थमाएर घटना साम्य पार्ने प्रयास गरिएको ती आफन्तले बताए । ‘चेक र नगदमा कुरा मिलाएर बकपत्रमा पीडितले घटना अस्वीकार गरिदिए थुनामा रहेका अमित छुट्ने र थुनामुक्त हुँदै बाहिर निस्किएपछि पनि थप नौ लाख ९० हजार रुपैयाँ नगद नै दिनेसम्मको प्रलोभन आएको थियो’ उनले भने, ‘पीडित (वादी) पक्षका साक्षीलाई पनि विभिन्न धम्कीहरू आएको थियो ।’ उनले नगद र चेक बोकेर धरानका राजु श्रेष्ठ पटक–पटक पीडित युवती र उनका आफन्तसम्म पुगेको पनि बताए ।
वादी पक्षका एक साक्षीले आफूलाई एक लाख रुपैयाँ दिने र बकपत्रमा उल्टो कुरा बताउन आफूलाई प्रतिवादी पक्षबाट दबाव आएको बताए । ‘मलाई पनि धेरैखाले दबाव आए’ उनले भने, ‘नमानेपछि गुण्डा लगाएर हातखुट्टा भाँच्नेसम्मको धम्की दिइयो ।’ उनका अनुसार सबै साक्षीलाई अदालतमा उपस्थित भएर पीडकको पक्षमा बोल्न दबाव दिने काम बारम्बार भइरहेको थियो । उनले आफू र पीडित युवतीलाई बारम्बार पैसामा मिल्नका लागि दबाव एवम् विभिन्न धम्की आएको र त्यही तनावका कारण बकपत्रका दिन युवती अदालतमै बेहोस भएको बताए ।
यता पीडक अमितका बुबा खगेन्द्रले पीडिक पक्षलाई कुनै दबाव र प्रलोभन नदेखाएको बताए । अदालतबाट मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेकाले अदालतबाट भएको फैसला आफूहरूले स्वीकार गर्ने उनले बताए । ‘युवती सामु सकिन्छ भने मिलौं भन्दै प्रस्ताव चाहिँ लगिएको हो’ उनले भने, ‘हामीले भेटेका बेला मिल्नका लागि आग्रह गरेका हौं । उनले मानिनन् । त्यसपछि हामीले कुनै दबाव दिएका छैनौं ।’