पथरी / मोरङ पथरीशनिश्चरे नगरपालिकामा दोहोरो स्वामित्वमा रहेको जग्गाको समस्या दिनदिनै बढ्दै गइरहेको छ । सुकुम्बासीहरूले जोतभोग गरिरहेको जग्गाको समस्याको हल तीनै तहको सरकारसँग खोजिरहेका छन् ।

अर्कोतर्फ मोरङ क्षेत्र नं. ३ बाट निर्वाचित भएका कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले दशैं–तिहारमा सुकुम्बासीहरूको समस्याको समाधानको खुशीको खबर ल्याएर आउने आश्वासन दिएका थिए । अहिले सुकुम्बासीहरूले धनीपुर्जा कसले ल्याएर किनबेच गर्न गाउँमा आउँछ, उनीहरूलाई पक्राउ गरी राख्नका लागि पथरीशनिश्चरे–३ किरात चौकमा एउटा ‘खोर’ बनाएका छन् ।

त्यो खोरमा एक महिनाको अवधिमा दुईचोटी धनीपुर्जा ल्याएर आउने जग्गा दलाललाई पक्राउ गरी थुनिसकेका छन् । सुकुम्बासीहरूले बिहान पक्राउ गरेर थुनेर राखे पनि बेलुका प्रहरीलाई बुझाउने गरेको सुकुम्बासी नेता मौसम याक्थुङ्बाले बताए । गत बुधबार बिहान ११ बजे जग्गा हेर्न आएका २ जनालाई स्थानीय सुकुम्बासीले नियन्त्रणमा लिएका थिए ।

सुकुम्बासीको नियन्त्रणमा पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका–५ का ३७ वर्षीय राजेन्द्र लिम्बू, वराहक्षेत्र नगरपालिका–११ का ३९ वर्षीय मोजिबुल खान रहेका छन् । सुकुम्बासीको नियन्त्रणमा परेर प्रहरीलाई बुझाइएका लिम्बू र खानले भने आफूहरूमाथि अन्याय भएको बताएका छन् । दुईजनालाई सुकुम्बासीहरूले पक्राउ गरी कुटपिट गर्दै खोरमा लगाएका थिए ।

जग्गा हेर्न लिम्बू र खानसँगै गएका धनकुटा नगरपालिका–७ का ददिराम थापा भने भागेर कुटपिटबाट जोगिएका थिए । घटना विवरणअनुसार बुधबार करिब ११ बजे तीनजना पथरीशनिश्चरे–३ सामाजिक बस्तीस्थित धनबहादुर भुजेलको घरमा पुगेर भुजेल बसेको जग्गा बारे सोधखोज गरेका थिए । जग्गाको सोधीखोजी गरेको केहीबेरमा चारैतिरबाट गाउँलेहरू आएर राजेन्द्र लिम्बू र मोजिबुल खानलाई घेराबन्दी गरे । उनीहरूसँगै आएका ददिराम थापा भने घेराबाहिर निस्केर भागे ।

कुटपिट गर्दै सामाजिक बस्तीदेखि दक्षिण–पश्चिममा रहेको किरात चौकमा ल्याएर करिब ६ घण्टा सुकुम्बासीले थुनेर राखेका थिए । किरात चौकमा प्रयोगमा नआएको प्रहरी बिट (खोर) भित्र लगाएर ६ घण्टा नियन्त्रणमा राखेको राजेन्द्र लिम्बूले बताए । किरात चौकमा तीन सयभन्दा बढी स्थानीयबासी भेला भएका थिए । बिट(खोर) भित्र लगाएपछि बाहिर मट्टितेल छर्केर जिउँदै आगो लगाउँछौं भन्दै मानसिक प्रेसर दिएको मोजिबुल खानले बताए । इप्रका प्रहरीले एक रात हिरासतमा राखेर बिहान दुईपक्षको छलफलमा ल्याएको डिएसपी लक्ष्मीनाथ अधिकारीले बताए ।

सुकुम्बासीको नियन्त्रणमा परेका लिम्बू सशस्त्र प्रहरीका हवाल्दार हुन् । खान काठमाडौंको म्यान पावर कम्पनीमा काम गर्दैछन् । उनीहरूका अनुसार दुवैजना दशैं बिदामा सुनसरी आएका रहेछन् । पथरीशनिश्चरे–३ सामाजिक बस्तीछेउमा रहेको धनबहादुर भुजेलको घरैमा लिम्बू र खान आउनुको कारण चाहिँ मोजिवुल खानका छिमेकी इन्द्रनारायण मण्डलले पथरीमा ५ कठ्ठा जग्गा ७ लाखमै बिक्री हुँदै गरेको सुनाएकोले सस्तोमा जग्गा पाउने कुरा खानले आफ्ना साढुभाइ राजेन्द्र लिम्बूलाई सुनाए । लिम्बू र खानले चासो राखेपछि जग्गाधनी कमल गुरुङको सम्पर्कमा पुगे ।

उनीहरूले जग्गाको नक्सा, धनीपुर्जा, मालपोत तिरेको रसिद र जग्गाधनीको नागरिकताको फोटोकपी मगाए । सम्पूर्ण कागजात प्राप्त भएपछि लिम्बू, खान र थापा भएर पथरी आएका रहेछन् । बिहीबार पथरी आउन खोज्दा जग्गाधनी कमल गुरुङले सस्तोमा बिक्री गर्न लागेकोले बुधबार नगए अर्कैलाई बिक्री गर्ने भनेपछि तीनैजना तुरुन्त पथरी आएको राजेन्द्र लिम्बूले बताए ।

जग्गाधनी कमल गुरुङले आफू अन्यायमा पर्दै आएको बताए । साविक मोरङ गोविन्दपुर–५ को एक बिघा र पथरीशनिश्चरे–३ मा रहेको ५ कठ्ठा जग्गा धितो राखेर एनसीसी बैङ्कबाट दुई वर्षअघि २५ लाख ऋण लिएर इन्द्रनारायण मण्डल र आफूले चलाएको बताए । उक्त रकमको हालसम्म ब्याज नतिरेकोले मण्डलले समेत आफूलाई धोका दिँदै आएको गुरुङको भनाइ छ । बैङ्कले जग्गा लिलाम बिक्री गर्न लागेपछि पथरीको जग्गा बेचेर ब्याज तिर्न खोजेको गुरुङको भनाइ छ ।

दोहोरो स्वामित्वमा भएको जग्गाधनीले बेला–बेलामा जग्गा बिक्रीको लागि यसरी मान्छेहरू पठाउँदा स्थानीय सुकुम्बासीले नियन्त्रणमा लिएर कुटपिटसमेत गरी प्रहरीलाई बुझाउने गरेका छन् । यस अघि पनि कमल गुरुङ, पुनम थापा मगर, भरतमणि भट्टराईलाई पनि स्थानीय सुकुम्बासीहरूले पक्रेर बिहानदेखि बेलुकीसम्म खोरमा थुनेर इप्रका लगी आगामी दिनमा जग्गा दाबी गर्न नआउने लिखित शर्तमा इलाका प्रहरी कार्यालय पथरीबाट छाडेका थिए ।