भद्रपुर / झापाको अर्जुनधारा नगरपालिकाले पूर्वको पशुपतिनाथको रूपमा चिनिएको अर्जुनधारा जलेश्वरधामलाई थप आकर्षक बनाउन महाभारतकालीन पौराणिक कथाका पात्रहरूसँग मिल्ने प्रतिमा नगरको मुख्य बजार शनिश्चरेमा राख्ने भएको छ ।

यहाँ महाभारतको कथामा आधारित बाह्र वर्ष वनवास बसेका बेला तिर्खाएका गाईको प्यास मेटाउन धनुषधारी अर्जुनले बाण हानी धरतीबाट पानीको मूल फुटाएको भन्ने किम्वदन्ती प्रचलित रहेको पाइन्छ ।

सोही स्थानमा हाल अर्जुनधाराधाम रहेको मानिँदै आएको छ । अर्जुनधारा नगरपालिकाले धामको प्रवेशमार्गसमेत रहेको शनिश्चरे बजारमा महाभारतकालीन कथामा वर्णित पात्रको कलात्मक झलक प्रस्तुत गर्न रु ४६ लाखमा विभिन्न मूर्ति निर्माण गरिरहेको नगरप्रमुख हरि रानाले बताए ।

मूर्ति बनाउन कमल गाउँपालिका–५ का मूर्तिकार भक्तिमान राईलाई ठेक्का दिइएको छ । नगरपालिकाको नामाकरणसमेत अर्जुनधाराधामकै प्रसिद्धीका कारणले भएको हो । नगरप्रमुख रानाले ती मूर्ति सजाएपछि अर्जुनधारा धार्मिकस्थलको महŒव स्थापित हुने र यहाँ तीर्थाटनमा आउने पर्यटकको सङ्ख्या बढ्ने बताए ।

बनाइएको प्रतिमामा भगवान् श्रीकृष्णले हाँकेको रथमा योद्धा मुद्रामा उभिएका गाण्डिव धनुषधारी अर्जुन र तिर्खाएका गाईलाई प्यास मेटाउन धरतीबाट जलधारा निकाल्न बाण हान्दै गरेका अर्जुन ज्यादै कलात्मक र आकर्षक छन् । अर्जुनधाराको शनिश्चरे झापाको पुरानो बजार र साहित्यिक केन्द्र हो ।
आदिवासीले गोरुगाडा हाँक्दै गरेको विशाल मूर्ति शनिश्चरेमा राखिने नगरप्रमुख रानाले बताए । शनिश्चरेमा राख्नका लागि साहित्यकार एवम् शिक्षासेवी महानन्द सापकोटाको पूर्णकदको प्रतिमा, आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतिराम भट्टको अर्धकदको प्रतिमासमेत निर्माण भइसकेको छ । तामाको छानो लगाएर प्यागोडा शैलीमा पुनःनिर्माण गरिएको अर्जुनधारा मन्दिर परिसरमा अर्जुनले बाण हानेर निस्किएको पानीले बनेको धार्मिक विश्वास गरिने जलकुण्डसमेत छ । उक्त धार्मिकस्थलको चित्र नेपालको हुलाक टिकटका रूपमा छापिएको छ ।