बिर्तामोड । शनिश्चरे–बिर्तामोड सडक खण्डमा स्थानीयवासीले अवरोध गरेका छन् । शुक्रबार बिहानदेखि स्थानीयले टायर राखेर सडक अवरोध गरेका हुन् । शनिश्चरे बजार देखि अर्जुनधारा–६ को कप्तानबारीसम्म स्थानीयबासीले टायर, बाँस र कदमका हाँगा ओच्छ्याएर बाटो छेकेका छन् ।
जिल्लाको मुख्य बजार बिर्तामोडबाट उत्तरी भेग जाने मुख्य सडक खण्ड रहेको शनिश्चरे–बिर्तामोड सडक किनारमा रहेका घरधनीले बाटो निर्माणको माग राख्दै अवरोध गरेका हुन् । सार्वजनिक सवारीसँगै टिपरको आवात जावत बाक्लो हुने सो सडक आसपासका बासिन्दाले धुलोका कारण स्वास्थ्यमा प्रतिकुल असर पुर्याएको बताएका छन् ।
उनीहरुले धुलोले घर सेताम्मे भएको, खानपिनमा समस्या भएको, बालीनाली बिग्रेको नगरपालिकालाई जानकारी दिँदै तत्काल समाधान खोजिदिन आग्रह गरेका छन् । दैनिक जीवन नै कष्टकर भएको बताउँदै स्थानीय सन्तोष शर्माले नागरिकको स्वास्थ्यमा सरोकारवाला सचेत बन्नुपर्ने बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलको सक्रियतामा अवरुद्ध सडक अपराह्न खुलेको थियो । नगरपालिकाले बजेट बिनियोजन गरेर सडकमा पानी हाल्ने सहमति गरेपछि अवरुद्ध सडक खुलेको हो । तत्कालका लागि सडक निर्माण शुरु गर्न बजेट उपलब्ध नभएका कारण नियमित पानी हाल्ने सहमति गरिएको अधिकृत भुर्तेलले बताए ।
































