इटहरी/ यातायातको सहजताले गर्दा सुविधायुक्त मानिएको प्रदेश १ कै केन्द्रमा पर्ने इटहरी खाल्डाखुल्डी र धुलोको कारण अस्तव्यस्त बन्दै गएको छ । इटहरीको चौरास्ताचोकदेखि विराटनगर लाइनमा अनगिन्ती खाल्डाखुल्डी छन् भने इटहरी चौकदेखि तरहरा सम्म धुलोले हिँडिसक्नु छैन ।
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये प्रदेश १ को राजधानी विराटनगरबाट इटहरी, तरहरासम्मको सडक निर्माणाधीन छ । निर्माण भइरहेको सडकमा बग्रेल्ती खाल्डाखुल्डी र धुलो भएकाले स्थानीय जनजीवन पूरै प्रभावित भएको छ।
मोटरसाईकलमा यात्रा गर्नु अहिले रोग निम्त्याउनु जस्तै भएको इटहरी ४ का खेमपोमु लिम्बुले बताए । उनले भने धुलोले बजारमा हिंडिसक्नु छैन राज्यले के गर्दैछ ? स्थानीय सरकार किन चुईंक्क बोल्दैन ?उनी प्रश्न गर्छन् । इटहरीदेखि तरहरासम्म सडकमा हिंडिसक्नु नभएको उनको गुनासो छ । शहरमा धुलोले बजार निस्किनसक्नु भएको भन्दै यसतर्फ ध्यान दिनुपर्ने उनको माग छ ।
इटहरीदेखि विराटनगरसम्मको सडक धुलाम्मे छ । इटहरीबाट विराटनगरसम्म पुग्न मोटरसाईकल यात्रीहरूलाई निकै सकस पर्ने गरेको छ । वर्षायाममा हिलाम्मे हुने यो हाईवे अहिले धुलाम्मे भएका छन् । तरहरा, खनार ,दुहवी र इटहरीका केही भित्री सडकसम्म अहिले हिंडिसक्नु छैन । खनारका युवा सचिन नेपालले भने । नेकपाका नेतासमेत रहेका सचिन भन्छन् सडकमा हिंडिसक्नु छैन ।
अहिले हाईवेमा हिंड्दा सफा कपडा एकै छिनमा फोहोर मात्र भएन शरीर सबै धुलाम्मे हुन्छ इटहरीका कामाख्य हार्डवेयरका सञ्चालक शङ्कर अग्रवाल सडकको कन्तविजोक सम्झँदै भन्छन् । उनले बाटोमा धुलोले पुरै समस्या ल्याएको भन्दै बाटोको बिजोक भएको तर्क गरे । यो बाटो मोटरसाईलमा नहिंडे हुन्छ स्वास्थ्य नै बिग्रिन्छ उनले भने । पिच भत्केर ठूलठूला खाडल बनेका छन् । त्यसमाथि बेपत्तासँग उडेको धूलोले नजिकको घरलाई नदेखिने गरी ढपक्कै ढाक्छ ।
विराटनगर–इटहरी क्षेत्रको सडकमा कोही पनि आरामले हिँड्न पाएका छैनन् । भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानीदेखि धरानसम्म ४९ किलोमिटर सडक विस्तार भइरहेको छ । जसमध्ये अहिले साढे ३४ किलोमिटर क्षेत्रमा काम भइरहेको छ । निर्माणको काम भइरहेको सडक खण्डअन्तर्गत बढी मात्रामा सडक बिग्रिएको र खाल्डाखुल्डी भएका मुख्य स्थानमा इटहरी चोकदेखि उत्तरतर्फको सैनिक क्याम्प अगाडि, आँपगाछी चोक क्षेत्र, वरगाछी चोक, इटहरीदेखि दुहवी क्षेत्रमा सोनापुरको प्रगति टेक्सटायल उद्योग अगाडिको क्षेत्र र दुहवीबजार क्षेत्र छन् ।
२०६९/०७० बाट शुरु भएर सातवर्षभित्रमा सडक विस्तार गर्ने लक्ष्य राखिए पनि यो सडक आयोजना कहिलेसम्म टुङ्गिने भन्ने यकिन हुन सकेको छैन । पूरै सडक निर्माण गर्दा शुरुमा १० अर्ब ९८ करोड रुपैयाँलागतअनुमान गरिएकोमा अहिलेसम्म निर्माणाधीन सडक सात अर्ब ५३ करोड १० लाखमा ठेक्का लागेको छ । विराटनगर–इटहरी सडक खण्डको दुहवी बजार क्षेत्रमा दुई किलोमिटर ठेक्का लाग्न बाँकी छ । इटहरीको तरहरादेखि धरानसम्म १५ किलोमिटर सडक पनि कहिले ठेक्का लाग्ने टुङ्गो लागिसकेको छैन।
दुहवीमा सरकारले २०५४ सालमै ६ सय ३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रको रूपमाकायम गर्ने निर्णय गरेको थियो । त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअुनसार, दुहवीबजार क्षेत्रमा सीमा सडकको केन्द्ररेखादेखि दाँयाबाँया दुवैतर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो । जसले गर्दा दुहवी क्षेत्रमा सडक विस्तारको काम अलपत्र अवस्थामा छ । इटहरीदेखि विराटनर सम्मपुग्ने मोटरसाईकलका यात्री धुलाम्मे हुने गरेका छन् । मोटरसाईकलमा यात्रा गरेर गएको नागरिक विराटनगर पुग्दा धुलोले चिन्न नसकिने बनेर पुग्ने गरेको शनिवार दुहवीमा भेटिएका कोशी हरैंचाका रिद्धि घिमिरेले बताए ।
































