इनरुवा/ चालू आर्थिक वर्ष २०७६/०७७ को असार ९ गते सुनसरी इनरुवा–५ बलाहाका १६ वर्षीय शनिदेव मण्डलको हत्या भएको थियो ।

घरायसी भगडाका कारण मण्डलको तीन जनाको समूह मिलेर हत्या गरेको सुनसरीका एसपी यज्ञविनोद पोखरेलले बताए । मण्डलको हत्या गरेको अभियोगमा इनरुवा–५ का ३६ वर्षीय बेचन भनिने विन्देश्वर मेहता, ३५ वर्षीया सरितादेवी मेहता र २५ वर्षीया मञ्जुदेवी मेहतालगायतका समूहले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

त्यसैगरी साउन ६ गते देवानगञ्ज गाउँपालिका–२ स्थित रामजानकी मन्दिरछेउमा ५५ वर्षीय बिलु यादवको हत्या भएको थियो । व्यक्तिगत रिसइबीका कारण यादवको देवानगञ्ज गाउँपालिका–२ का ४५ वर्षीय महानन्द मेहताले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कले देखाएको छ । हत्यारा मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरिसकेको छ ।

त्यसैगरी साउन २८ गते सुनसरी बर्जु गाउँपालिका –५ की २३ वर्षीया आनन्दीदेवी यादवको हत्या भएको थियो । व्यक्तिगत रिसइबीका कारण यादवको हत्या स्थानीय प्रदीप यादवले गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । त्यसैगरी भदौ ७ गते सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–५ का ५० वर्षीय बहाव मियाँको हत्या भएको थियो । व्यक्तिगत रिसइबीका कारण मियाँको स्थानीय मुर्ताज मियाँले हत्या गरेका थिए ।

हत्या गरेको अभियोगमा प्रहरीले सबैलाई पक्राउ गरेर कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीमा आवश्यक कारबाहीका लागि हाजिर गराएको थियो । प्रहरीले पठाएका अरोपितहरूलाई जिल्ला अदालत सुनसरीले पुर्पपक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । अदालतको आदेशपछि अरोपितहरूलाई पुर्पक्षका लागि अहिले थुनामा रोखेर घटनाको विषयमा अनुसन्धान गरिरहेको सुनसरीका एसपी पोखरेलले बताए । जिल्लामा प्रहरी तथ्याङ्कलाई हेर्ने हो भने चालू आर्थिक वर्षको चार महिनाको अवधिमा चारवटा हत्या घटना भएको छ ।

सुनसरीमा आर्थिक वर्ष २०७५/०७६ मा २७ वटा घटना भएकोमा यस वर्ष ४ महिनाको अवधिमा ४ वटा हत्याको घटना भएको सुनसरीका डिएसपी विनोद शर्माले बताए । गतवर्ष २७ वटा हत्याको घटना भएकोमा २३ वटा फछ्र्योट भइसकेको छ भने ४ वटा फछ्र्योट हुन बाँकी रहेको सुनसरीका डिएसपी शर्माले बताए । आरोपीहरू पक्राउ पर्न नसकेका कारण गत वर्षको ४ वटा हत्याको घटना फछ्र्योट हुन बाँकी रहेको डिएसपी शर्माले बताए ।

चालू आर्थिक वर्षमा हत्याको घटनामा संलग्न आरोपीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ । हत्याका अरोपित पक्राउ पर्नु जिल्ला प्रहरी कार्यालय सुनसरीको ठूलो सफलता हो । तर जिल्लामा हत्याका घटना बढ्नु प्रहरीका लागि चुनौतिको विषय बनेको छ । त्यसैले हत्याको घटना न्यूनीकरणका लागि सबै पक्षले पहल गर्नु आवश्यक छ ।