उदयपुर/ त्रियुगा नगरपालिका–९ चौकीबारीमा दुई आमाछोरीको हत्या गर्ने हत्यारा प्रहरीले सार्वजनिक गरेको छ । हत्या भएको करिब ६ दिनपछि प्रहरीले सिरहाको लहान नगरपालिका–८ घर भई हाल मोतिगडामा डेरा गरी बस्दै आएका ४० वर्षीय रामहरि साहले हत्या गरेको पत्ता लगाई बिहीबार सार्वजनिक गरेको हो ।
लहान स्थायी घर भई हाल त्रिनपा–३ मोतिगडामा कोठा भाडामा बस्दै आएका साहले आमाछोरीको हत्या गरेको अनुसन्धानमा दोषी ठहर भएपछि प्रहरीले सार्वजनिक गरेको हो ।
घटना घटेको ६ घण्टाभित्रै पक्राउ परेका साहमाथि विशेष अनुसन्धानपछि हत्यारा ठहर गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले बताए ।
विभिन्न अनुसन्धानपछि साहले आफ्नो अपराध स्वीकार गर्दै शुरुमा सलले घाँटीमा बेरेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको बयान दिएको एसपी मगरले बताए । मृतक महिलासँग गहिरो प्रेम सम्बन्ध रहेको तर विहे गर्न अस्वीकार गरेपछि हत्या गरेको बयान दिएको उनले बताए ।
साहले योजनाबद्ध ढङ्गले घटना घटाएको अनुसन्धानले देखाएको छ । श्रीमती नहुने भन्ने भएपछि मानसिक रूपमा विक्षिप्त भएका साहले दशैं अघिदेखि नै हत्याको योजना बनाएको र आमाछोरी दुईजना मात्र घरमा भएको मौका छोपेर घटना घटाएको बयान दिएको प्रहरीले जनाएको छ ।
साहले गत २४ गते राति चौकीबारीका २८ वर्षीया गोमा भनिने शारदाकुमारी चौधरी र उनकी ६ वर्षीया छोरी रचनाकुमारी चौधरीको हत्या गरेको थियो । चौधरी आमाछोरीको शव २५ गते बिहान आप्mनै घरमा घाँटी रेटिएको अवस्थामा गाउँलेले फेला पारेका थिए ।
खबरलगत्तै प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाउनुका साथै गहिरो अनुसन्धान थालेको ६ दिनमै अपराधी पत्ता लगाएको हो । मृतकसँग सम्बन्ध भएका, व्यवहार गरेका स्थानीय छरछिमेकी, आफन्त र शङ्कास्पद करिब दुई सय व्यक्तिसँग सोधपुछ तथा अनुसन्धानपछि प्रहरी निष्कर्षमा पुगेको जनाएको छ ।
एसपी मगरले घटनालगत्तै धरानबाट विशेषज्ञ कुकुरसहितको प्रहरी टोली, प्रदेश तथा सङ्घीय प्रहरीसमेतको अनुसन्धान सहयोगबाट चाँडै अपराधी पत्ता लाउन सफलता मिलेको जनाएको छ ।