यो वर्ष विश्वभरका मिडियामा ‘मी टु’ अति चर्चित रहे । हलिउड नगरीमात्रै होइन, बलिउड नगरीमा पनि मी टुले ठूलै तहल्का ल्यायो । केही अभिनेतामाथि सङ्गीन आरोप लागे । तर, पुष्टिका आधारहरु अहिले पनि तयार भएका छैनन् । मी टुको चर्चा केही ओभाउन नपाउँदै नेपालमा पनि मी टुकै झल्को दिने गरी घटनाले सामाजिक सञ्जाल र सञ्चारमाध्यमका पानाहरु तातेका छन् । हो, हामी सभामुख कृष्णबहादुर महराको कुरा गरिरहेका छौं । द्वापरयुगमा पनि कृष्णको लीलाहरु हामीले प्रशस्तै सुन्दै आएका थियौं । १६ सय गोपिनीलाई माया जालमा पार्न सफल ती कृष्णको लीला व्यासद्वारा लिखित महाभारतको पानामा पनि सुरक्षित छ । त्यो त द्वापरयुगको एउटा माया सत्य हो । तर, हामी वर्तमानमा कृष्णबहादुर महरा अर्थात् कृष्णको बलात्कार आरोपको लीलाको सत्य र तथ्य के हो ? या माया सत्य अर्थात् भ्रम हो । यसको निकासोन्मुख चर्चामा अडिएका छौं । सभामुखलाई बलात्कारजस्तो सङ्गीन आरोप लाग्नु र उनले पनि अमुक रुपमा स्वीकार गर्दै राजीनामा दिनुले केही सङ्केत गरेको छ । तर, त्यो नै अन्तिम सत्य हो भनिहाल्ने स्थिति देखिँदैन ।

सत्यतथ्य छानबिन गर्नकै लागि उनले खोलिदिएको राजीनामाको ढोकाका लागि स्वागतयोग्य कार्य मान्नुपर्छ । कहिलेकाहीँ इमानको राजनीतिको चर्चा चल्ने हाम्रो जस्तो विकासोन्मुख देशमा राजीनामा दिएर सभामुखले जुन इमान्दारिता देखाएका छन् । त्यसलाई सह्राना गर्नुपर्छ । तर, सञ्चारमाध्यममा आए झैं उनले ती महिला कर्मचारीमाथि गरेको दुव्र्यवहार कदापि क्षम्य हुँदैन । नेपालमा प्रत्येक वर्ष बलात्कारको ग्राफ उकालिदो छ । यही सेरोफेरोमा सभामुखको बलात्कार लीलाले त्यो ग्राफलाई थप बल प्रदान गरेको आभाष हुन्छ । बलात्कारीलाई मानसिक रुपमै दुर्वल बनाउनका लागि साधारण नागरिकलाई झैँ अनुसन्धान थालिनुपर्छ । राजनीति पहुँचको भरमा झारो टार्ने किसिमको अनुसन्धान भयो भने प्रहरी प्रशासनप्रति पनि जनताको विश्वास उड्छ । अहिले नै पनि ती महिला कर्मचारीले आफूले त्यो किसिमको आरोप लगाउन नखोजेको हो कि भन्ने सन्देशात्मक समाचारहरु प्रकाशित भइरहेका छन् । यसको अर्थ या त उनीमाथि तीव्र दबाव सिर्जना गरिँदै छ या त उनले स्वस्फुर्त रुपमा त्यो कुरा बताइरहेकी छन् । यदि त्यसो भयो भने ती महिलामाथि पनि छानविन हुनुपर्छ । बलात्कार भयो भनेर हल्ला गरी हल्का रुपमा लिने कार्य पनि अर्को अपराध हो । त्यसलाई निरुत्साहित पार्न पनि अनुसन्धान मोडिनुपर्छ । अहिले ती शक्तिहरु पनि क्रियाशील रहेको देखिन्छ ।

राजनीति आडमा यो घटना क्षुब्ध नबनोस् । आरोप लाग्दैमा उनी पूर्णतः दोषी हुन् भन्ने भ्रम पनि आममान्छेले पाल्नु हुँदैन । तर, स्वतन्त्र र निष्पक्ष छानविनको वातावरण तयार गरिनुपर्छ । त्यसले राजनीतिको गरिमा पनि बढाउँछ । छानविनको क्रममा दोषी देखिए प्रचलित कानूनअनुसार महरामाथि कारबाही हुनुपर्छ । पीडितले न्याय पाउनुपर्छ । न कि न्याय हराएको देश झैं पीडित थप पीडित बन्ने अवस्था सिर्जना गरिनु हुँदैन । उनको दल नेकपाले पनि स्वतन्त्र छानविन गर्नका लागि वातावरण तयार गर्नुपर्छ । अझ उसैको सरकार भएकाले ऊ त झनै गम्भीर बन्नुपर्छ । त्यो उसको जिम्मेवारी पनि हो । नत्र ऊमाथि पनि कलङ्कको टीका लाग्नेछ । नेपालीको महान पर्व दशैं नजिकिएको सन्दर्भमा नेकपामाथि लाग्ने कलङ्कको टीका सदैव इतिहासमा लेखिनेछ । र, त्यो कदम नेकपाका लागि घातक सिद्ध हुनेछ ।