बेलबारी /  मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा आयोजित बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको शनिवार उद्घाटन भएको छ । उद्घाटन खेलमा धरान फुटबल क्लव विजयी भएको छ ।
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्रप्रसाद सुवेदीले गोल्डकपको उद्घाटन गरेका थिए । फुटबलले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको र यसको विकासका लागि नगरपालिका जहिल्यै तयार रहेको बताए । साथै गोल्डकपको सफलताको शुभकामना व्यक्त गर्दै मेयर सुवेदीले नगद गोल्डकपका लागि पाँचलाख सहयोग गर्ने घोषणा गरेका थिए । कार्यक्रममा बोल्दै एन्फाका केन्द्रीय सदस्य दिपक राईले बेलबारीले फुटबल खेलमा गरेको विकासको प्रसंशा गरेका थिए ।
लक्ष्मी खेल मैदानमामा आयोजित खेलमा आयोजक डाँगीहाट युथ क्लवलाई ४—३ को गोल अन्तरले पराजित गर्दै धरान विजयी भएको हो । निर्धारित समयमा गोल हुन नसक्दा ट्राईब्रेकर भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्ने सुनौलो अवसरहरु गुमाएका थिए ।
ट्राईब्रेकरमा धरानका तर्फबाट विष्णु सुनुवार, मनोज राई, बुद्ध चेम्जोङ वर्तमान राईले गोल गरेका थिए भने डाँगीहाटको तर्फबाट विक्रम लिम्बु , अनोज मगर, साईमान राईले मात्र गोल गरेका थिए । डाँगीहाटका दुईजना खेलाडी मिलन राई र सुनिल खड्काले गोल गर्न चक्दा डाँगीहाटले हार बेहोर्नु परेको थियो । त्यसैगरी धरानका तर्फबाट रिवास मास्केले गोल गर्न चुकेको थियो ।
प्रतियोगिताको म्यान अफ दि म्याच धरानका गोल किपर लक्ष्मी राई घोषित भएका थिए । उनलाई नगद पाँचहजार सहित पुरस्कृत गरिएको थियो । कार्यक्रमको उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष विक्रम वान्तवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।