भद्रपुर । संविधान दिवसको अवसरमा प्रदेश १ भरिबाट ६० कैदीले कैद मिनाहा पाएका छन् ।
प्रदेश १ को ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बु कारागारमा रहेका कैदीहरू जेलमुक्त बनेका हुन् । विभिन्न कारागारको सूचनाअनुसार ताप्लेजुङबाट भीमबहादुर शेर्पा र सुनिल इजम लिम्बू, पाँचथरबाट भगिरथ तावा, सुरेन योङ्या र गोपीप्रसाद तावा जेलमुक्त बने ।
त्यस्तै झापाबाट अर्जुन सोरेन, ओमनारायण राजवंशी, दीपेन्द्र कार्की, सुकमान तामाङ, अर्जउल करिम, भेषराज कोइराला, उमानाथ गहतराज, टङ्कप्रसाद पोखरेल, पदमबहादुर तामाङ, रोशनकुमार राय मण्डल, मनिष कडरिया, मोहन थापा, कुमार भट्टराई, लालबहादुर राई, गङ्गा विक, थर्कबहादुर अधिकारी र उदय कट्टेलले माफी पाएका छन् ।
त्यस्तै भोजपुरबाट पेम्बाछिरी शेर्पा, भीषण राई, हर्कबहादुर राई र रविन्द्र राई रहेका छन् । उता तेह्रथुमबाट डल्लीमाया तामाङ, कृष्ण तामाङ र केदार खाती विश्वकर्मा छुटेका छन् । यता मोरङ कारागारबाट सुशील शाक्य, सन्दीप धिमाल, मनिषा राई, कविता मण्डल कामत, सुन्दरी राई, मोतीबहादुर विक, सचानन्द यादव र दीपेश मगर रहेका छन् ।
त्यसैगरी क्षेत्रीय कारागार सुनसरी झुम्काबाट प्रवेश राई, रामचन्द्र सरदार, रामएकवाल राय, मोहम्मद नवाफ सरिफ, अनिलकुमार चौधरी, शम्भु चन्द्रवंशी, सन्तोष तामाङ, प्रवीण राई, रुद्रबहादुर विश्वकर्मा, राजकुमार साह, लत्रु चौधरी, तिलकबहादुर विष्ट, जयराम सञ्जोग लिम्बू, राजु नेपाल, सञ्जीव शाक्य, विशाल तामाङ, तीर्थ तामाङ र रामदेव मण्डल रहेका छन् । त्यस्तै उदयपुरबाट भूवन विक गजमेर, ओखलढुङ्गाबाट प्रमोद राई र मिङ्मालामु शेर्पा छुटेका छन् भने सोलुखुम्बुबाट गोविन्द विश्वकर्मा र कमल विश्वकर्माले माफी मिनाहा पाएका छन् ।
कानूनले सिफारिस गर्न नमिल्ने भनी तोकिएको मुद्दाबाहेक असल चालचलन भई तोकिएको कैदमा असोज २ गतेसम्म ५० प्रतिशत कैद भुक्तान गरेका बन्दीले माफी मिनाहा पाएका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २६ को निर्णयले राष्ट्रपतिबाट बाँकी कैद मिनाहा भुक्तानी गरिएको कारागारका जेलर राजेन्द्र निरौलाले बताए ।
संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन,२०७४ को दफा ३७, फौजदारी कसूर (कैद कट्टा) नियमावली,२०७६ बमोजिम संलग्न विवरणअनुसारका कैदीहरूलाई बाँकी कैद छोट्याई माफ मिनाहा दिने निर्णय भएको थियो ।
































