धरान/ धरान उपमहानगर–१३ र ४ को सीमामा पर्ने धरान–भेडेटार सडक–खण्डको निशाने खोला क्षेत्रमा जमिन धसिएपछि कोशी राजमार्ग धरापमा परेको छ । निशाने खोलामा आएको बाढीले कटान गर्दा जमिन धसिन थालेको हो ।

साढे तीन दशकअघि ब्रिटिस सरकारको सहयोगमा धरान–भेडेटार–धनकुटा सडक निर्माण भएको हो । दक्षिण एशियामै पहिलो श्रेणीको सडक मानिएको धरान–धनकुटा सडकको निशाने खण्डको जमिन धसिन थाले पनि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण भने हुन सकेको देखिएको छैन ।

त्यसैगरी वराहक्षेत्र नगरपालिका–६ मा पर्ने श्रीलङ्का टप्पुको तिलिया बस्ती कोशी कटानको जोखिममा परेको छ । कोशीले कटान गर्दै नजिक आएपछि दुईदिनयता १५ घर विस्थापित भएको वडासदस्य श्याम लिम्बूले बताए । कोशी कटान तीव्र भएपछि स्थानीय बासिन्दा आफ्नो घर भत्काउँदै सुरक्षित क्षेत्रमा सर्न थालेका छन् ।

कोशी कटानबाट विस्थापित हुनेहरूमा रामकुमार राई, तेजबहादुर विक, देवकुमार राई, अमृता राई, पदम राई, रामदली चौधरी, आशबहादुर माझी, कुमार राई, धनकुमारी राई, वीरबल राई, बाझहाङ लिम्बू, तारु चौधरी, प्रमोद झा, प्रभुनाथ माझी र श्याम लिम्बूलगायत छन् । उनले विस्थापितलाई व्यवस्थापन गर्न स्थानीय सरकार र प्रदेश सरकारले खासै ध्यान नदिएको गुनासो गरे । गतवर्षको कटानमा परेर सोही बस्तीबाट १८ घर विस्थापित भएका थिए ।

भोजपुरमा तीन घर भत्किए
त्यस्तै भोजपुर जिल्लाका विभिन्न ठाउँमा अविरल वर्षाको कारण तीन वटा घर भत्किएका छन् । अविरल वर्षाका कारण भोजपुरको आमचोक, रामप्रसाद राई र अरुण गाउँपालिकामा तीनवटा घर भत्किएका हुन् । वर्षाले आमचोक गाउँपालिका–४ का स्थानीय तिलकबहादुर कार्कीको दुई तले ग्वाली घर भत्किएर एउटा बोका मरेको छ ।

घर भत्किँदा एक लाख तीनहजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । वर्षाकै कारण मङ्गलबार बिहान जिल्लाको रामप्रसाद राई गाउँपालिका–१ ओख्रेमा पनि स्थानीय धनबहादुर राईको घर भत्किएको हो । यस्तै अविरल वर्षाले अरुण गाउँपालिका–५ याकुका रमेश ढकालको घर भत्किँदा ७६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।