दमक/ झापाको दमकस्थित आम्दा अस्पतालमा टाउको नभएको शिशुको जन्म भएको छ ।

दमक–२ स्थित आम्दा अस्पतालमा मोरङको मिक्लाजुङ गाउँपालिका–७ की गुराँस कार्कीले टाउकोविहीन बच्चालाई जन्म दिएकी हुन् । २४ वर्षीया आमा गुराँस र ३० वर्षीय सुजन कार्कीको दोस्रो सन्तानको रूपमा जन्मिएकी छोरीको टाउकोको माथिल्लो भाग छैन । बच्चाको स्वास्थ्यप्रति परिवार चिन्तित बनेका छन् ।

बाबु सुजन भन्छन्, ‘ज्यामी काम गर्छु श्रीमतीलाई गर्भवती भएका बेला पनि समय–सयमा स्वास्थ्य परीक्षण त गराएकै थिएँ तर अहिले यस्तो के भयो ?’ सुजनका अनुसार श्रीमतीलाई पनि दुई वर्षदेखि पैसा आकारको दाद रोगले सताइरहेको छ । अस्पतालका  फेमिली फिजिसियन डा.प्रकाश शर्मा यस्ता बच्चाहरू जन्मिरहेकाले नौलो मान्नुपर्ने कारण नभएको बताउँछन् ।

गर्भवती भएका बेलामा आवश्यक मात्रामा पौष्टिक आहारा खुवाउन नसक्दा यस प्रकारको बच्चा जन्मने उनको भनाइ छ । उनका अनुसार कार्की परिवारबाट जन्मेको यो बच्चा आमा गर्भवती भएको ५–६ महिनामा स्वास्थ्य परीक्षण गराउँदाको अल्ट्रा साउण्ड रिपोर्टमा पनि बच्चाको यो अवस्था देखिएको उनको भनाइ छ ।

तर त्यो अल्ट्रासाउण्ड गराएको स्थानका प्राविधिकहरूले बच्चाको वास्तविक अवस्थाबारे जानकारी नगराएका कारण अहिले जन्मने बेलामा यस्तो स्वरूपको बच्चा जन्मिएको उनको भनाइ छ ।  चिकित्सक शर्माका अनुसार यस प्रकारको बच्चा बाँचे नै पनि टाउकोको उपचार भने गर्न सम्भव हुँदैन । यस प्रकारको घटना विश्वका गरिब मुलुकमा बढी हुने गरेको चिकित्सकको भनाइ छ ।

tauko-nabhaeko-baccha