धरान/ पूर्वको रिफरल सेण्टर मानिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन वर्षअघि जडान गरेको बहुउपयोगी कार्डियाक क्याथल्याव बिग्रिएपछि मुटु र स्नायुको समस्या भएका बिरामीको उपचार प्रभावित भएको छ ।

भदौ १० गते कार्डियाक क्याथल्याव बिग्रिएपछि प्रतिष्ठानमा मुटुका समस्या लिएर उपचारका लागि आउनेहरूलाई अन्यत्र रिफर गर्न चिकित्सकहरू बाध्य भएका छन् । उक्त उपकरण नबिग्रिँदा साँघुरिएका भल्भहरू खोल्ने, एन्जियोप्लाष्टी, एन्जियोग्राफी गर्ने, एरोटिक, पल्मोनरी भल्भोटोमी, मुटुभित्र जन्मजात हुने विभिन्न प्रकारका प्वालहरू बिनाअपरेशन टाल्ने, असामान्य किसिमका स्नायुहरूको समेत उपचार हुँदै आएको थियो ।

मुटुको समस्या भएका सबै बिरामीलाई तत्कालका लागि अन्यत्र अस्पतालमा रिफर गरिरहेको प्रतिष्ठानले जनाएको छ । उपकरण नभएको अवस्थामा प्रतिष्ठानमा भर्ना गरेर राख्नु जोखिमपूर्ण हुने र थप उपचार गर्न नसकिने भएकाले क्याथल्याव नबनेसम्म भर्ना बन्द गरेको एक चिकित्सकले बताए । क्याथल्याव बिग्रिएपछि प्रतिष्ठान व्यवस्थापन पक्षले बोलाएर फिलिप्स कम्पनीका प्राविधिकले सोमबारदेखि मर्मत सम्भारको काम गरिरहेका छन् ।

वारेन्टी पिरियड सकिएकाले क्याथलावको कुनै पार्ट्स फेर्नुपरे नयाँ खरिद गर्नुपर्ने हुन्छ । हाल प्रतिष्ठानमा आर्थिक अधिकारविहीन पदाधिकारी रहेकाले बिग्रिएको पार्ट्सको ठाउँमा नयाँ खरिद गर्न समस्या देखिएकाले कहिलेसम्मा बनिसक्ने भन्ने टुङ्गो नभएको सामान्य प्रशासनका एक कर्मचारीले बताए ।

प्रतिष्ठानमा पछिल्लो सयमा अक्सिजन प्लाण्ट पनि बिग्रिएको छ । अक्सिजन प्लाण्ट बिग्रिएपछि प्रतिष्ठानले अन्यत्रबाट दैनिक ७० हजार रुपैयाँ बराबरको अक्सिजन सिलिण्डर खरिद गर्दै आएको छ । प्रतिष्ठानमा भएका उपकरणहरू धमाधम बिग्रन थालेपछि वारेण्टी सकिएकाहरूको पाटर््स फेर्नका लागि आर्थिक अधिकार सम्पन्न पदाधिकारी नहुँदा झनै समस्या भएको प्रतिष्ठानले जनाएको छ ।