इनरुवा / लामो समय शिक्षक पेशामा जिन्दगी गुजारेका सरोज दुलाल बोनम्यारो फेल भएर थलिएका छन् । उपचारकालागि खर्च जोहो गर्न नसकेकै कारण उनी मृत्यु कुर्न बाध्य छन् ।
३७ वर्षीय दुलाल इनरुवा ५ बलाहाका स्थानीय हुन् । नवयुग एकेडेमीका शिक्षक दुलाल अंग्रेजी विषयमा अब्बल मानिन्छन् । स्वास्थ्य र सामाजिक विषयको समेत अध्यापन गराउँदै आएका दुलाल केहि वर्षयता जटिल प्रकृतिको रोगबाट ग्रसित छन् ।
बोन म्यारो फेल भएका कारण दुलाल सिभर एप्लाष्टिक एनिमियाको शिकार भएका छन् । चिकित्सकहरुका अनुसार उक्त रोग लागेको व्यक्तिको समयमै उपचार सम्भव नभए जुनकुनै बेला ज्यानै जान सक्छ ।
सिएमसी अस्पताल भेलोर इण्डियामा भर्ना गराइएका दुलाललाई घर फर्काइएको छ । परिवारले उपचारमा आवश्यक रकम जुटाउन नसकेपछि बिरामीलाई घर फर्काइएको हो ।
सरोजको एक श्रीमति र सानी छोरी छिन् । खर्च अभावमा अस्पतालबाट फर्काइएका दुलाल यतिबेला जीवन मरणको दोसाँझमा छन् । बिरामी अवस्थाका बिच दुलाल सहयोगको याचना गरिरहेका छन् । उनले आफु बाँचे शिक्षक पेशालाई निरन्तरता दिँदै सामाजिक कार्यमा सकृयताका साथ लागि पर्ने बाचा सहित सहयोगका लागि हात फैलाईरहेका छन् । स्वयं बिरामी सरोजको भनाईमा सहयोग रकम नजुटे मृत्यु कुर्नु बाहेकको विकल्प छैन् ।
अस्पतालले करिव २० लाख नेपाली रुपैंया उपचारमा लाग्ने बताएको सरोजकी श्रीमति शान्ता दुलालले बताइन् । औषधोउपचार सहित थप अन्य खर्चको समेत आवश्यक पर्ने भएकाले आफु र आफ्नो परिवार रकम जुटाउन असमर्थ रहेको उनको भनाई छ । उपचारका लागि भर्ना गर्न ढिला भैसके पनि रकम अभावमा लाचार भएर बस्नु बाहेकको विकल्प नभएको उनको दुखेसो छ ।
दुलालको उपचारमा परिवारले भएको जायजेथो सबै बेचिसकेको छ । परिवार भाडाको घरमा बस्दै आएकोे छ । करिव ६ वर्षदेखि उपचाररत रहेका दुलाललाई लागेको सिभर एप्लाष्टिक एनिमिया नामक रोग अन्तिम स्टेपमा छ । जसको निदानका लागि तत्कालै अन्तिम चरणको उपचारका रुपमा बोनम्यारो ट्रान्सप्लान्टेशन बाहेकको विकल्प नरहेको चिकित्सकले बताउका छन् ।
रकम अभावमा उपचार गराउन नसकेका दुलालको हकमा सिएमसी अस्पतालले मृत्यु मिति पूर्वानुमान समेत गरी तोकिदिएको छ । अस्पतालले बढीमा दुई महिना भित्र उपचार नगराइए बिरामीको ज्यान जाने बताएकाले समेत दुलालको परिवार अत्तालिएको छ ।
अस्पतालबाट फर्किएको १५ दिन बितिसकेको छ । परिवारसँग उपचारकालागि कुनै विकल्प बाँकी नभएकाले दुलाललाई बँचाउन दाताहरुको सहयोग अन्तिम आशा बनेको शिक्षक समेत रहेका स्थानीय सरोज बरालको भनाई छ । दुलाल बँचाउ अभियानमा जुटेको बताउने बरालले स्थानीयहरुको साथ र सहयोगमा आर्थिक संकलनको कार्य थालिएको बताए ।
विद्यार्थी, शिक्षक मात्रै नभएर स्थानीय युवाका साथै समाजका अगुवा र शुभचिन्तकहरु मिलेर सहयोग संकलनमा जुटेको बसन्त सुवेदीले बताए । उपचारकालागि मोटो रकम आवश्यक पर्ने भएकाले सबैको साथ र सहयोगको खाँचो रहेको उनले बताए ।
सामाजिक उत्तरदायित्व र मानवीय धर्म ठानी उपचार खर्च जुटाउन हिंडेको बताउने आशिष थापाले थोपाथोपा मिलेर समुन्द्र बनेझैं सबैले सकेको सहयोग गरे मृत्युको मुख नजिक पुग्न लागेको बिरामीले जीवनदान पाउने बिश्वास व्यक्त गरे ।
दुलालको उपचारमा सहयोग गर्न चाहनेहरुकालागि राष्ट्रिय बाणिज्य बैंक इनरुवा शाखामा खाता समेत खोलिएको छ । स्वयं बिरामी सरोजकुमार दुलालको नाममा खोलिएको बाणिज्य बैंकको बचत खाता नम्बर २२२००५३४७५१० र जनता बैंक इनरुवाको खाता नम्बर ०१०१०१०७५१०७१०१ मा इक्षाएका व्यक्तिहरुले सहयोग रकम जम्मा गर्न सक्ने छन् ।