धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गु परीक्षण गर्ने किट नभएपछि उपचार गर्न पुगेका सर्वसाधारण बिरामी निजी क्लिनिक र अस्पताल जान बाध्य भएका छन् ।

सरकारले डेङ्गुको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ । प्रतिष्ठानमा डेङ्गुको उपचार निःशुल्क हुँदा कुरुवा बस्दा लाग्ने खर्च मात्र हुन्थ्यो तर निजीमा जान बाध्य भएपछि चर्को शुल्क, अनेक ल्याव परीक्षण, बेडचार्ज तिर्नु पर्दा कम्तिमा १० हजार खर्च हुने गरेको छ । प्रतिष्ठानमा एकसातादेखि किट अभाव भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले किट उपलब्ध नगराउँदा प्रतिष्ठानमा अभाव भएको हो । महाशाखाले गत जेठदेखि गतसातासम्म ४ हजार किट पठाए पनि उक्त किटले नपुगेपछि प्रतिष्ठान आफैले ४ सय थान किट किनेको थियो । किट नभए पनि उपचार गर्न आउनेलाई निःशुल्क गरिएको प्रतिष्ठानले जनाएको छ । डेङ्गुका लागि सिविसी परीक्षण गर्दा रगतमा प्लेटलेट्स धेरै घटेको पाइए मात्र किट प्रयोग गर्नू भनेर इपिडिमियोलोजी महाशाखाले उपलब्ध नगराएको प्रतिष्ठान स्रोतले जनाएको छ ।

डेङ्गु प्रतिरोधी खोप वा औषधि हालसम्म बनाइएको छैन । चिकित्सकहरूले डेङ्गुको औषधि नभए पनि रोगको लक्षण र अवस्थाअनुसार अस्पतालमा राखेर उपचार मात्र हुँदै आएको छ । धरानमा देखिएको डेङ्गु सेरोटाइप–२ मात्र भएकाले खासै जटिल नभएको प्रतिष्ठानका माइक्रोबायोलोजी विभागका डा. नारायण भट्टराईले बताए ।

उनले सेरोटाइप–३ डेङ्गु भएमा जटिल हुने बताए । प्रतिष्ठानमा हाल पनि दैनिक सरदर २५ देखि ३० जना नयाँ बिरामी थपिने गरेका छन् । गत वैशाख २९ गतेदेखि धरानमा देखिएको डेङ्गु महामारी नियन्त्रण हुन सकेको छैन । एडिस एजिप्टाई र एडिस एल्बो पिक्टस जातको पोथी लामखुट्टेले सफा पानीमा पारेको अण्डा, लार्भा र प्यूपा नष्ट गर्ने ‘सर्च एण्ड डोस्ट्रोय’ अभियान पनि मनसुन शुरु भएयता सुस्त रहेको छ ।

धरानमा डेङ्गु फैलिएपछि गठन गरिएको ¥यापिड रेस्पोन्स टिमका संयोजक प्रतिष्ठानका स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका चिकित्सक डा. विजयकुमार खनालले भने, ‘डेङ्गुको खोप वा औषधि नभएकाले नियन्त्रणका लागि लामखुट्टे मार्ने, त्यसका अण्डा, लार्भा र प्यूपा खोजी–खोजी नष्ट गर्नुबाहेक अर्को विकल्प छैन ।

तर यो अभियान धरानमा प्रभावकारी हुन सकेको छैन । समुदाय, उपमहानगरपालिका, स्वास्थ्य विभागले गर्नुपर्ने हो ।’ उनले सबैभन्दा पहिले धरान–१५ र ८ मा सर्च एण्ड डेस्ट्रोय अभियानलाई निरन्तरता दिनुपर्ने बताए । आइतबारसम्ममा सङ्क्रमितको संख्या धरानमामात्र ३ हजार ४ सय ६० जना पुगिसकेको छ ।