बिर्तामोड /  झापाको बिर्तामोडमा सञ्चालित एभरेष्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट एकजना बिद्यार्थीको खुट्टा भाँचिएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सोही बिद्यालयमा कक्षा ७ मा अध्ययनरत बिद्यार्थी कुनाल गट्टानीको खुट्टा भाँचिएको हो । अर्जुनधारा नगरपालिका –८ का किसन गट्टानीका छोरा पंकजलाई शिक्षकले घाँटीमा समातेर बेञ्चमा पछार्दा खुट्टा भाँचिएको पीडितले बताएका छन् ।
घटना बिहिबारको हो । कक्षा–७ को तेस्रो घण्टी पढाउन प्रधान कक्षा कोठामा प्रवेस गरे । सो बेला केही बिद्यार्थीले बाथरुमको धाराको पानी बोतलमा भरेर शिक्षकको पोडियममा राखिदिएका थिए । सो पानी शिक्षकले पिए । त्यसपछि बिद्यार्थीहरु हाँस्न थाले । शिक्षकले किन हाँसेको भनेर सोधे । बिद्यार्थीले बाथरुमको पानी सरले खानुभयो भने पछि शिक्षक आक्रोशित भएको पीडितल ेबताए ।
सबै बिद्यार्थी पुन हाँस्न थाले । ति मध्येबाट बिद्यार्थी गट्टानीलाई अगाडी ल्याएर शिक्षक प्रधानले गालामा थप्पड हाने । त्यतिगर्दा पनि रिस नमरेपछि उनले घाँटीमा समातेर बेञ्चमा पछारेपछि बिद्यार्थीको देब्रे खुट्टा भाँचिएको पीडित बिद्यार्थीले बताए । शिक्षक प्रधानले गट्टानीलाई बाथरुमको पानी ख्वाएको भन्दा पनि हाँसेको निहुमा मरणासन्न हुनेगरी पिटेका हुन् । कनकाई हस्पिटलमा उपचारपछि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा अहिले पीडित बालकको घरमा उपचार भइरहेको गट्टानीले जानकारी दिए ।
‘मेरो छोरालाई मार्ने नियतका साथ कुटपिट भएको रहेछ, पीडित बालकका बाबु किसनले भने–‘भाग्यले बाँच्यो ।’ बिद्यालयले बालकको निगरानीका लागि नर्सको ब्यवस्था गर्ने, उपचारमा लागेको सम्पुर्ण खर्च ब्यहोर्ने, घरमै शिक्षकको ब्यवस्था गरेर अध्ययनको ब्यवस्था गर्ने, बालकलाई अर्के विद्यालयमा अध्ययनको ब्यवस्था गर्ने र त्यसको शुल्क बिद्यालयले तिर्नेगरी सहमति गरिएको पीडितका बाबु गट्टानीले बताए ।
अभिभावक, बिद्यालय ब्यवस्थापन समिति र विद्यालय सञ्चालकको बैठकले विद्यार्थीको खुट्टा भाँच्ने शिक्षक प्रधानलाई भने उन्मुक्ति दिएको छ । पीडिक परिवारलाई दवाव दिएर सहमति गर्दै विद्यालयले प्रधानलाई उन्मुक्ति दिएको हो ।
विद्यालयका प्रधानाध्यापक आशिष प्रसाईँले घटना भएको स्विकार गरे । उनले सो घटनालाई नियत नभई आवेसमा भएको भन्दै शिक्षकको बचाउ गरेका छन् । घटना बाहिर नल्याउनका लागि विद्यालयले पीडितको सबै माग पुरा गरिदिएको बताइएको छ । पीडित पक्ष, स्थानीय तहका जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समितिको छलफलपछि शिक्षक प्रधानलाई एक पटकलाई माफी माग्न लगाइएको छ ।